06/03/2026, 23:23:41
बुधबार, जेठ २०, २०८३

असी तोला सुन चोरी !


बुटवल, जेठ २० गते । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ । सुनका गरगहना तथा काँचो सुन गरी करिब ८० तोला सुन चोरिएको छ ।

पसल सञ्चालक दीपक सेन्चुरी घुम्नका लागि पोखरा गएका बेला सो घटना भएको हो । सोमबार बिहान पसलको सटर खुलेको अवस्थामा देखेपछि स्थानीयले सञ्चालकलाई खबर गरेका थिए । त्यसपछि पसलमा पुगेका परिवारका सदस्य र कामदारले चोरी भएको पुष्टि गरेका हुन् । पसल सञ्चालक सेन्चुरीले सुनका गरगहना र काँचो सुन गरी ८० तोला चोरी भएको र जसको बजार मूल्य साढे दुई करोड हुने बताउनुभयो ।

पसलका कामदार नवीन विकका अनुसार पसलमा जडान गरिएको सिसिटिभी क्यामरा करिब तीन महिनादेखि बिग्रिएको अवस्थामा थियो । चोरले यही कमजोरीको फाइदा उठाएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनास्थल निरीक्षणका क्रममा पसलभित्र एउटा ठुलो चाबीको झुप्पा फेला परेको छ तर ती चाबीहरू पसलकै नभएको बताइएको छ । पसलभित्र रहेका दुईमध्ये सुनका गरगहना राखिएको लकर खुला अवस्थामा भेटिएको थियो भने त्यसमा राखिएका सुनका सामग्री गायब थिए ।

पसलभित्र प्रवेश गर्नुपर्ने च्यानल गेट र बाहिरी सटरमा तोडफोड भएको थिएन । यसले चोर सहज रूपमा पसलभित्र प्रवेश गरेको वा कुनै विशेष तरिकाले सुरक्षाप्रणाली छल्न सफल भएको हुन सक्ने आशङ्का बढाएको छ । घटनास्थलबाट करिब १५० मिटरको दुरीमा प्रहरी बिट रहे पनि चोरीको घटना हुनुले सुरक्षा-व्यवस्थामाथि समेत प्रश्न उठाएको छ ।

करोडौँ रुपियाँ मूल्य बराबरका सुनका गरगहना चोरी भएको घटनाले बुटवलका व्यवसायी त्रसित छन् ।