05/22/2026, 11:50:15
शुक्रबार, जेठ ०८, २०८३

दाङमा अतिक्रमण गरी बनाइएका संरचना हटाइने


दाङ, जेठ ८ गते । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।

डिभिजनअन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरुले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ । सडक सीमा अतिक्रमित हुँदा सवारी आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको भन्दै डिभिजनले सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ । सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संंरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने गरिने सूचनामा उल्लेख छ ।

कार्यालयले जारी गरेको सूचनामा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्ड, सहिदमार्गको–कोइलावास–लमही–घोराही सडकखण्ड, राप्ती राजमार्गको–अमेलिया–तुलसीपुर–सितलपाटी खौलापास सडकखण्ड, हुलाकी राजमार्गको–गढवा–राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी–खलङ्गा–बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कृटी–घोराही–तुलसीपुर–काल्चे सडकखण्ड,भालुबाङ–गनाहा–सडकखण्ड र रारा राजमार्गको–थारमारे–चौरजहारी सडकखण्डको सिमा अतिक्रमण भएको उल्लेख छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..