

बुटवल, जेठ ६ गते । बुटवल–गोरुसिङ्गे सडक निर्माणका क्रममा बिटुमिन अभाव हुँदा कालोपत्रेको काम रोकिएको छ । सडक आयोजना अन्तर्गत बुटवल खण्ड र कपिलवस्तु खण्डको केही भागमा पिचको काम सुरु गर्नेे तयारी गरे पनि बिटुमिन अभाव भएपछि तत्काल कालोपत्रेको काम सुरु हुन नसकेको हो ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलले बिटुमिन अभावले पिचको काम तत्काल सुरु हुन नसकेको बताउँदै बिटुमिनका लागि पहल गरिदिन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । केही दिनअघि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले उक्त सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो । निर्माण कम्पनीका प्रतिनिधिले बिटुमिन अभावले निर्माणका काम सुरु गर्न नसकिएको जानकारी गराएपछि मन्त्री लम्सालले मन्त्रालयले बिटुमिनका लागि सहजीकरण गरिदिने बताउनुभएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधिले बिटुमिन अभावसँगै माटो र नदीजन्य पदार्थको समेत अभावले निर्माणका काम प्रभावित भइरहेको भन्दै त्यसका विषयमा पनि सहजीकरण गरिदिन मन्त्री लम्सालको ध्यानाकर्षण गराएका थिए । आयोजना कार्यालय बुटवलले बुटवल क्षेत्रको करिब एक किलोमिटर र कपिलवस्तु क्षेत्रको तीन किलोमिटर भाग कालोपत्रेका लागि तयार भएको जनाएको छ ।
उता आयोजना क्षेत्रका पालिकाले माटो र नदीजन्य पदार्थका लागि सहजीकरण नगरेको निर्माण कम्पनीको गुनासो छ तर आयोजना क्षेत्रको सैनामैना नगरपालिकाले भने प्रक्रिया पूरा गरी माटो र नदीजन्य पदार्थ निकासीका लागि सहजीकरण गर्न तयार रहेको जनाएको छ । नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले निर्माण कम्पनीले कागजी प्रक्रिया पूरा गरेको अवस्थामा आफूहरू नदीजन्य पदार्थ र माटो उत्खननमा बाधक नहुने प्रतिबद्धता जनाउनुभयो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लिई काम गरिरहेका छन् ।
आयोजनाले माटो अभावका कारण समेत बुटवल– गोरुसिङ्गे सडक निर्माणका काममा ढिलाइ भइरहेको जनाएको छ । वर्षा सुरु हुनुअघिसम्म करिब तीन लाख घनमिटर माटो आवश्यक भए पनि माटो नपाउँदा समस्या देखिएको हो । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवल प्रमुख कुशलता न्यौपानेले यो सडक २०८४ कात्तिक ३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब २५ प्रतिशत काम सम्पन्न भएको छ । सडक विस्तारलाई ५० किलोमिटर दुरीमा दुई खण्डमा विभाजन गरिएको छ । बुटवल–सालझन्डी (२५ किमी) लट–१ र कपिलवस्तुतर्फ गोरुसिङ्गेसम्म (२५ किमी) लट–२ अन्तर्गत काम भइरहेको छ । लट–१ को लागत सात अर्ब ८९ करोड रुपियाँ र लट–२ को पाँच अर्ब ६६ करोड रुपियाँ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































