05/09/2026, 13:35:40
शनिबार, बैशाख २६, २०८३

दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान


काठमाडौँ, वैशाख २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन माग गरेको हो ।

यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा एक जना नियुक्त गर्न पनि इच्छुक योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा सूचना अनुसार इच्छुक उम्मेदवारले २०८३ जेठ ५ गते बुधबार कार्यालय समयभित्र आवेदन पेस गर्नुपर्ने छ । उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा आवेदनसँग संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

मन्त्रालयले आवेदन प्रक्रियासम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट https://www.mocit.gov.np/  हेर्न अनुरोध गरेको छ ।