काठमाडौँ, असोज २२ गते । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई अब केवल तत्कालीन राहत वितरणमा मात्र सीमित नराखी सुरक्षित आवास, जीविकोपार्जन र दीर्घकालीन पुनर्स्थापनाको योजनासँग जोड्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा बुधबार काठमाडौँमा आयोजित ‘भोटेकोशी बाढीः राहतदेखि पुनर्स्थापनासम्म बहुसरोकारवालाको भूमिका’ विषयक छलफलमा सहभागीहरूले सरकारसँग तत्काल स्पष्ट पुनर्स्थापना योजना ल्याउन आग्रह गरेका हुन्।
छलफलका क्रममा राहत वितरणमा हुने दोहोरोपन अन्त्य गर्न प्रभावित परिवारको एउटै विश्वसनीय अभिलेख तयार गर्नुपर्ने र पुनर्वासस्थल छनोट गर्दा भौतिक सुरक्षासँगै स्थानीयको जीविकोपार्जन, सामाजिक सम्बन्ध र सांस्कृतिक अभ्यासलाई ध्यान दिनुपर्ने बताइएको छ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले तथ्याङ्क अभिलेखीकरण र पारदर्शी सहयोग प्रणालीमा जोड दिनुभयो।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले सबै प्रभावितलाई एउटै प्रकृतिको राहत दिने ‘ब्ल्याङ्केट’ दृष्टिकोण त्यागी आवश्यकताका आधारमा लक्षित सहायता उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अभिभावक गुमाएका बालबालिकाहरूलाई विशेष संरक्षण र मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्नेमा उनीहरूको जोड थियो।
यसैगरी, एसोसिएसन अफ इन्टरनेसनल एनजीओज् इन नेपाल (एआईएन) की प्रतिनिधि सम्झना विष्टले बाढीपछि करिब ७० संस्थासँग समन्वय गरी प्रारम्भिक कार्य गरिएको र आगामी ३ महिनाको पुनर्स्थापना योजनामा ३५–४० अन्तर्राष्ट्रिय संस्था सहभागी हुने जानकारी दिनुभयो। छलफलले भोटेकोशी क्षेत्रको पुनर्स्थापनालाई अल्पकालीन राहतभन्दा माथि उठाएर दीर्घकालीन उत्थानशीलता निर्माणसँग जोड्ने निष्कर्ष निकालेको छ।
| सरोकारवाला / निकाय | मुख्य भनाइ तथा माग (Key Highlights & Demands) |
| अर्जुन भट्टराई (अध्यक्ष, एनजीओ महासङ्घ) | प्रभावितको वास्तविक आवश्यकताका आधारमा पुनर्स्थापना कार्यक्रम र प्रभावकारी समन्वय हुनुपर्ने। |
| डा. धर्मराज उप्रेती (कार्यकारी प्रमुख, NDRRMA) | राहतको दोहोरोपन रोक्न तथ्याङ्क अभिलेखीकरण (कसले, कहाँ, के पायो) पारदर्शी र व्यवस्थित हुनुपर्ने। |
| यज्ञप्रसाद अधिकारी (सहसचिव, राष्ट्रिय योजना आयोग) | विपद् व्यवस्थापनमा राज्य र नागरिक संस्थाहरूबिच समान सहभागिता र सहकार्य अपरिहार्य रहेको। |
| सञ्जय मल्लिक (समाज कल्याण परिषद्) | विपद् प्रतिकार्यमा प्रशासनिक अवरोध घटाउने र विकास साझेदारलाई बजेटको १% विपद्मा विनियोजन गर्न आग्रह। |
| राष्ट्रिय मानवअधिकार आयोग | ‘ब्ल्याङ्केट’ राहत त्यागी आवश्यकताका आधारमा बालबालिका, गर्भवती र वृद्धवृद्धालाई लक्षित सहायता दिनुपर्ने। |
| श्यामबाबु कट्टेल (फेकोफन) | वास्तविक पीडित छुट्न नदिन तत्काल यकिन र व्यवस्थित तथ्याङ्क सङ्कलन गर्नुपर्ने। |
| सम्झना विष्ट (प्रतिनिधि, AIN / DCA) | आगामी ३ महिनाको पुनर्स्थापना योजनामा ३५–४० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सहभागी हुने। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








