04/29/2026, 08:39:33
बुधबार, बैशाख १६, २०८३

नारायणगढ–बुटवल सडक विस्तारसँगै सुरक्षा सुधार


त्रिवेणी (नवलपरासी), वैशाख १६ गते । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ ।

सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बिचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणका धेरैजसो काम अन्तिम चरणतर्फ बढेका छन्, हामीले सोही अनुसार सडक सुरक्षाका काम अघि बढाएका छौँ ।

सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात किलोमिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था छ । अन्य सबै क्षेत्रमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो । पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य स्थानमा यात्रा सहज भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रा.लि.ले सुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि हाल चौथोपटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यस सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ । कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किमीमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किमी खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..