04/06/2026, 16:48:53
सोमबार, चैत २३, २०८२

मुस्ताङ यात्राको आकर्षण रुप्से झरना..


म्याग्दी, कात्तिक ९ गते : मुस्ताङ जाने सडक छेउमा पर्ने रुप्से झरना अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तिहारपछि दैनिक रुपमा करिब पाँच हजारभन्दा धेरै पर्यटकले रुप्से झरनाको अवलोकन गर्ने गरेका छन् ।

कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक खण्डको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनाको अवलोकन गर्ने पर्यटकको निकै नै भिड लागेको छ ।

सवारी साधन रोकेर झरनामा पुगेर फोटो र भिडियो खिच्ने पर्यटकहरु तछाडमछाड गरेको देखिन्छ । मुस्ताङ भ्रमणमा आएका स्कुल,कलेजका विद्यार्थी र अन्य आन्तरिक पर्यटकहरु रुप्से झरनामा आइपुगेपछि सवारीसाधन रोकेर झरनाको अवलोकन गर्ने गरेका छन् ।

मुस्ताङ भ्रमणका लागि चितवनबाट आउनुभएका विवेक सापकोटाले रुप्से झरनाको सुन्दरताले मन लोभ्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहाडको खोचबाट झरेको झरना मनमोहक छ । सडक छेउको सुन्दर झरनाको अवलोकन नगरी अगाडि बढ्न मन नमानेपछि सडकमा गाडी रोकेर अवलोकन गर्‍यौं ।’’ झरनाको आसपास पुगेर फोटो/भिडियो खिच्नेको भिडभाड छ ।

पर्यटकहरु सवारीसाधन रोकेर झरनाको अवलोकन गर्दा रुप्से खण्डमा दैनिक रुपमा सवारीसाधनको लामो जाम समेत लाग्ने गरेको छ । पछिल्लो एक हप्ता यता बिहानैदेखि रुप्सेमा पर्यटकको भिड लाग्ने गरेको दानाका पर्यटन व्यावसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । झरनाको अवलोकन गर्ने पर्यटक बढेपछि यहाँ सञ्चालित चिया तथा कफी पसलहरुमा समेत राम्रो व्यापार भएको छ ।

– ठाकुरप्रसाद आचार्य