09/09/2026, 08:57:24
बुधबार, भदौ २४, २०८३

भोटेकोशी बाढीको क्षति र आवश्यकता मूल्याङ्कन (RDNA) यथार्थपरक बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशन


काठमाडौँ, भदौ २४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (RDNA) को विवरण यथार्थपरक र सत्यतामा आधारित बनाउन निर्देशन दिनुभएको छ।

मङ्गलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग र विश्व बैङ्कका प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ठीक निर्णय गर्न र लगानी जुटाउन वस्तुनिष्ठ विवरण आवश्यक पर्ने बताउनुभयो।

पुनर्निर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउन बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन जरुरी छ,” उहाँले भन्नुभयो, “सरकारले ठीक निर्णय गर्न र लगानी जुटाउन आरडिएनए (RDNA) र ग्रेड (GRADE) यथार्थपरक र सत्यतामा आधारित भएर एउटा राष्ट्रिय डकुमेन्ट बन्नुपर्छ।

चार क्षेत्रमा विभाजन गरी क्षति मूल्याङ्कन

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकरण भट्टसहित उच्चपदस्थ अधिकारी सहभागी छलफलमा बाढीबाट पुगेको क्षतिलाई चार मुख्य क्षेत्रमा विभाजन गरेर मूल्याङ्कन भइरहेको जानकारी दिइयो:

  • सामाजिक क्षेत्र: निजी घर तथा संरचना, सार्वजनिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा।
  • उत्पादनमूलक क्षेत्र: कृषि, मत्स्य, पशुपन्छी, वित्तीय क्षेत्र तथा आर्थिक गतिविधि।
  • पूर्वाधार क्षेत्र: जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक, पुल, दूरसञ्चार, हरित ऊर्जा, वातावरणीय स्वास्थ्य, सिँचाइ तथा नदी व्यवस्थापन।
  • अन्तरक्षेत्रीय विषयवस्तु (Cross-cutting): बाढीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको व्यवस्थापन।

साझा प्रतिवेदन तयार गरिँदै

राष्ट्रिय योजना आयोगले सहसचिव अर्जुन भण्डारीको नेतृत्वमा भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूसहितको कार्यदल बनाएर RDNA प्रतिवेदन तयार गरिरहेको छ।

यस्तै, विश्व बैङ्कले तयार पारेको ‘विश्वव्यापी विपद्पश्चात् द्रुत क्षति अनुमान‘ (GRADE) र योजना आयोगको प्रतिवेदनलाई समेटेर सरकारले चाँडै नै एक साझा राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। सोही प्रतिवेदनका आधारमा सरकारले तत्कालीन राहत, पुनर्निर्माण, पुनःस्थापना र आवश्यक लगानीको स्रोत जुटाउने कार्य अघि बढाउनेछ।