09/03/2026, 21:22:54
बिहिबार, भदौ १८, २०८३
भोटेकोशी बाढी

सम्पर्कविहीनको उद्धारमा तीव्रता दिन संसद्‌मा नेताहरूको माग, सर्वदलीय बैठक बोलाउन आग्रह


काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धार कार्यलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पूर्वअर्थमन्त्री पुनले जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहमा फसेकाहरूको तत्काल उद्धार गर्न, न्यायोचित राहत वितरण गर्न र प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेर विपद् व्यवस्थापन संयन्त्रलाई मूर्तरूप दिनुपर्ने बताउनुभयो।

नेता पुनले विपद्पछिको तत्कालीन उद्धार र राहतका साथै दीर्घकालीन पुनः स्थापनाका लागि ‘राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष‘ स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले हिमाली क्षेत्रको नियमित अनुगमन, अध्ययन र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारसँग माग गर्नुभयो।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुरुङहरूमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले विज्ञहरूसँग परामर्श गरी तत्काल उद्धार टोली खटाउन सुझाव दिनुभयो।

श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले यस विपद्लाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयका रूपमा उठाउनुपर्ने र विपद्को समयमा सबै पक्षबिच एकता र ऐक्यबद्धता हुनुपर्ने औँल्याउनुभयो।