09/01/2026, 10:14:04
मङ्गलबार, भदौ १६, २०८३

रसुवा बाढीको आर्थिक क्षति विवरण यसै हप्ता सार्वजनिक गरिने: अर्थ मन्त्रालयद्वारा ‘बिजनेस रिकभरी प्याकेज’ को तयारी


काठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको आर्थिक क्षतिको ‘र्‍यापिड एसेसमेन्ट प्रतिवेदन’ आगामी बिहीबारसम्म सार्वजनिक गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भौतिक तथा आर्थिक क्षतिको विवरण सङ्कलनलगत्तै पुनर्निर्माण र पुनस्र्थापनाको दीर्घकालीन गुरुयोजना बनाइने जानकारी दिनुभयो। अर्थतन्त्र र जन-जीवनमा परेको असर न्यूनीकरण गर्न सरकारले छिट्टै ‘बिजनेस रिकभरी प्याकेज’ ल्याउने र उद्धार तथा पुनर्निर्माणलाई व्यवस्थित बनाउन पाँचवटा कार्यदल गठन गरिनेछ।

राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त रकम तत्कालै निकासा गर्न अर्थमन्त्री डा. वाग्लेले निर्देशन दिनुभएको छ। प्रभावित १६ पालिकामध्ये अत्यधिक क्षति भोगेका चार पालिकालाई प्राथमिकतामा राखेर रकम परिचालन गरिनेछ। साथै, अबको पुनर्निर्माणमा स्थानीयको जीविकोपार्जन र सामाजिक परिवेशलाई ध्यान दिइने र जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको यो विपत्तिको विषयलाई संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुत गरी अन्तर्राष्ट्रिय सहयोग जुटाइने उहाँले बताउनुभयो।

बाढीपीडितको सहयोगका लागि दाताहरूबाट प्रधानमन्त्री राहत कोषमा ठूलो रकम सङ्कलन भइरहेको छ। सोमबार एकै दिन विभिन्न उद्योगी, व्यापारिक समूह तथा व्यक्तिहरूबाट ६० करोड २ लाख रुपियाँभन्दा बढी हस्तान्तरण भएको छ। भदौ ११ गतेदेखि सुरु भएको सङ्कलन अभियान अन्तर्गत चार दिनमा अर्थ मन्त्रालयमार्फत कुल एक अर्ब ३० करोड ७५ लाख रुपियाँभन्दा बढी रकम तथा दुई लाख अमेरिकी डलर कोषमा जम्मा भइसकेको छ।