

काठमाडौँ, साउन १९ गते । अर्थतन्त्रलाई पुनः गतिशील बनाउन, लगानी विस्तार गर्न र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकारले वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग बृहत् छलफल सुरु गरेको छ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृतसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो सामान्य औपचारिक छलफल नभई नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण भएको स्पष्ट पार्नुभयो। उद्योगीसँगको संवादपछि वित्तीय प्रणालीको नेतृत्व गरिरहेका बैङ्कका सिइओसँग गम्भीर छलफल गरिएको उहाँको भनाइ छ।
उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैङ्किङ प्रणाली नै रहेको उल्लेख गर्दै उहाँले वाणिज्य बैङ्क अर्थतन्त्रका सबैभन्दा महत्त्वपूर्ण सङ्गम भएको बताउनुभयो। “बचतकर्ता, उद्यमी, किसान, उद्योगी, लगानीकर्ता र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा सबै बैङ्कमा आउँछन्, त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान र बजारको आत्मविश्वास बैङ्करले नै सबैभन्दा बढी महसुस गर्नुहुन्छ,” उहाँले भन्नुभयो।


बजेटमार्फत अर्थतन्त्रको स्पष्ट दिशा तय भइसकेकाले अब सरकारको ध्यान कार्यान्वयनमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो। ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग नबढ्नु र बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन तथा लगानीमा रूपान्तरण हुन नसक्नुका कारण खोज्न उहाँले बैङ्करलाई आग्रह गर्नुभयो।
बैङ्किङ क्षेत्रसँगको सम्बन्ध केवल नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको भएको बताउँदै उहाँले प्राप्त सुझावलाई कार्यान्वयनको स्पष्ट ‘रोडम्याप‘ मा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जहाँ कानुनी, प्रक्रियागत वा संस्थागत सुधार आवश्यक छ, त्यहाँ निर्णय लिन सरकार पछि नहट्ने उहाँको भनाइ थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























