06/14/2026, 10:13:16
आइतबार, जेठ ३१, २०८३

‘नेपोलियन’ ले लुटेका विश्वप्रसिद्ध चित्र


फ्रान्सलाई समृद्ध बनाउन नेपोलियन बोनापार्टले पोपलाई दुई करोड फ्रैङ्क, जेनोआको रिपब्लिकलाई डेढ करोड फ्रैङ्क, मेडोनाका ड्युकलाई एक करोड फ्रैङ्क दिन बाध्य गराए । उनले मिलानबाट पनि प्रशस्त धन बटुलेका थिए । त्यसरी बटुलेको रकम उनले आफ्नो सेनाका लागि खर्च गरे अनि बाँकी रकम फ्रान्स पठाए ।

नेपोलियन एक उच्च दर्जाका सेना नायक थिए । उनले आफ्नो युगमाथि नै शासन गरे । उनले विश्वभरि आफ्नो नाम, यश फैलाए । उनी शक्तिशाली, आत्मविश्वासी, निर्भीक र साधनसम्पन्न व्यक्ति थिए । उनी भाग्यमा धेरै विश्वास गर्दथे । उनलाई लाग्दथ्यो मानिसभित्र कुनै एक यस्तो शक्ति छ जसले मानिसलाई सफल बनाउन प्रेरित गर्दछ । उनी आफ्ना सैनिकलाई धेरै माया गर्दथे । सायद त्यसैले होला उनलाई आफ्ना धेरै सैनिकको नाम कण्ठस्थ हुन्थ्यो ।

सन् १७६९ मा फ्रान्सले जिनोआसँग कोर्सिका द्वीप किनेको थियो । यही द्वीपको आजासियोमा १५ अगस्तमा नेपोलियन जन्मेका थिए । उनले फ्रान्समा सैन्य शिक्षा लिए । १७ वर्षको उमेरमा एक तोपखानाको सैनिक पदमा नोकरी सुरु गरे । सन् १७८९ मा फ्रान्समा क्रान्ति हुँदा उनी मात्र २० वर्षका थिए । उनलाई चित्रकलामा सोख थियो । उनी फ्रान्सका चित्र तथा मूर्ति ध्यानपूर्वक हेर्दथे । उनी आफ्नो देशका कलाकारमाथि गौरव गर्दथे । जसरी हुन्छ फ्रान्सलाई मूर्तिकलामा समृद्ध बनाउनु पर्दछ भन्ने सोचाइ राख्दथे ।

उनी हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गर्दैन थिए । आफ्नो यही लगन, परिश्रमका कारण तोपखानाबाट ट्युलोन पदमा उनले प्रसिद्धि कमाएका थिए । त्यसपछि उनलाई ब्रिगेडियर जनरल बनाइयो । अन्त्यतै महìवाकाङ्क्षी भएकै कारण उनले सन् १७९५ अक्टोबर ५ मा राष्ट्रिय सम्मेलनविरुद्ध सम्राटका समर्थकलाई पराजित गरेर फ्रान्सेली सेनाको सेनापति भए ।

नेपोलियनले इटालीमा आक्रमण गरेर विजय प्राप्त गरेपछि कलाका विद्वान्, इतिहासकारसँग परामर्श गरेर उत्कृष्ट तथा नाम चलेका कलाकृतिबारे जानकारी हासिल गरे । तत्पश्चात् उनले आफ्ना सैनिकलाई भने, “हेर सैनिक हो मलाई कलाप्रति प्रेम छ । म इटालीका प्रसिद्ध कलाकृति फ्रान्स पु¥याउन चाहन्छु । फ्रान्सलाई कलाकृतिद्वारा पनि समृद्ध बनाउने मेरो चाहना छ । तसर्थ इटालीका उत्कृष्ट कलाकृति उठाएर फ्रान्स पु¥याउनु पर्छ ।

नेपालियनको निर्देशन अनुसार उनका सैनिकले इटालीका कलाकेन्द्रमाथि धावा बोलेर निकै क्षति पु¥याए । नेपोलियनका सैनिकले कलाकृतिबाहेक मनोस्कृष्ट पनि लुटे तथा झन्डै एक हजार पेन्टिङ इटाली, स्पेन, पोर्चुगल र अन्य युरोपेली देशबाट लुटेर पानीजहाजबाट फ्रान्स पठाए । यस क्रममा रैफलको दी ट्रासफिग्रेसन, टिसियनको, दी क्राइस्ट, दी एपोलो बेल विडियर र दी नाइट म्युसेज, दी आरनोल फिनीको पोट्रेट पनि लुटियो । यस्तै सलोमी रिसिभिग दी हेड अफ सन्त जसलाई जोन सिनोले बनाएका थिए र यो चित्र पनि नेपोलियनका सैनिकले लुटे ।

लुटेका कलाकृति फ्रान्स पु¥याएपछि नेपोलियनलाई देखाइयो । रैफेल, रेम्ब्रान्ट, टिसियन, पिटर पल रुबेन्स जस्ता विश्व प्रसिद्ध कलाकारका चित्र लुटेर ल्याइएको थियो । चित्रहरू हेरिसकेपछि नेपोलियनले सैनिकलाई धन्यवाद दिए । उनले भने, “अब पेरिस सहरलाई ठाउँ ठाउँमा मूर्ति राखेर सुन्दर बनाउनु पर्छ । कला सङ्ग्रहालयलाई अझ व्यवस्थित बनाउनु पर्छ । लुभ्र अब समृद्ध भएको छ ।

सन् १८०४ मा नेपोलियन बोनापार्ट फ्रान्सको सम्राट भए । बहुमतद्वारा जनताले उनलाई सम्राट चुने । उनले १० वर्ष राज गरे । सन् १८१४ मा लेपजिससँग भएको लडाइँमा उनी पराजित भए । लडाइँ हार्नेबित्तिकै उनले सम्राट पद त्याग गरेका थिए । सन् १८१५ मा वाटरलुको युद्धमा पनि उनले हारे । त्यहाँबाट उनी पेरिस गए । उनले ब्रिटेनसमक्ष आत्मसमर्पण गर्नु प¥यो  । उनलाई सजायका लागि सेन्ट हेलेना द्वीप पठाइएको थियो । त्यसको सात वर्षपछि सन् १८२१ मे ५ मा हेलेना द्वीपमै उनको निधन भयो ।

नेपोलियनले युरोपेली कला र संस्कृतिको केन्द्रविन्दुका रूपमा पेरिस सहर निर्माण गरेका थिए । पेरिस सहरको सौन्दर्य वृद्धि गरेर एक प्रकारले बेरोजगारी समस्या पनि हल गरे । ठूला सडकको निर्माण गरियो । लुभ्रलाई विश्वस्तरको सङ्ग्रहालय बनाउन युद्ध जितेका राष्ट्रबाट कलाकृति लुटेर ल्याइएको थियो । उनले कला, साहित्य, वास्तुकला र चित्रकलाको क्षेत्रमा धेरै सुधार गरे ।

एक साधारण सिपाहीबाट आफ्नो रणकौशल तथा गौरवपूर्ण विजय अभियानको फलस्वरूप एक प्रसिद्ध सम्राट बनेका नेपोलियन फ्रान्स र युरोपको इतिहासमा मात्र होइन विश्वको इतिहासमा महान् सेनापति र विजेताका रूपमा परिचित छन् । यस्तो महान् र प्रसिद्ध व्यक्तिको पनि पतन भयो । सन् १८०४ देखि १८०७ सम्म टिलसिलको सन्धिसम्मको अवधिमा उनको शक्ति चरम सीमामा थियो । त्यसपछि सैनिकवाद, राष्ट्रवाद, अत्यधिक थकान, कूटनीतिक कमजोरी, पोपसँगको मनमुटाव, मास्को अभियान जस्ता कारणले उनको पतन भएको इतिहासमा विश्लेषण गरिएको छ ।

नेपोलियनको पतनपछि नेपोलियनले परिवर्तन गरेको युरोपको मानचित्रलाई मिलाउन तथा युरोपेली समस्या समाधान गर्नका लागि अस्ट्रियाको राजधानी भियनामा सबै राष्ट्रका प्रतिनिधिको उपस्थितिमा महासम्मेलन आयोजना गरिएको थियो । जसलाई भियना सम्मेलन भनिन्छ । भियना सम्मेलनले लुटेका कलाकृतिका सम्बन्धमा गरेको निर्णय साह्रै महìवपूर्ण छ ।

नेपोलियनले लुटेका कलाकृति सम्बन्धित राष्ट्रलाई नै फर्काइदिनुपर्ने महत्वपूर्ण निर्णय भियना सम्मलेनले गरेपछि फ्रान्सले ८० प्रतिशत कलाकृति सम्बन्धित राष्ट्रलाई फर्काइदिएको थियो । २० प्रतिशत कलाकृति टुट्ने फुट्ने भनेर फर्काइएन । आज पनि फ्रान्सको लुभ्रमा नेपोलियनले लुटेका केही चित्र छँदै छन् ।

– रमेश खनाल