07/29/2026, 08:15:58
बुधबार, साउन १३, २०८३

वीर अस्पताल १३७ औँ वर्षमा प्रवेश: १३६ वर्षको इतिहास, चुनौती र निरन्तरता


काठमाडौँ, साउन १३ गते । नेपालको आधुनिक स्वास्थ्य सेवाको जननी वीर अस्पताल मंगलबारदेखि १३६ वर्ष पूरा गरी १३७ औँ वर्षमा प्रवेश गरेको छ। तत्कालीन प्रधानमन्त्री वीरशमशेर जबराले वि.सं. १९४६ साउन १२ गते १५ शय्याबाट स्थापना गरेको यो अस्पताल हाल ९६० शय्याको राष्ट्रिय रेफरल अस्पतालका रूपमा विकसित भएको छ।

नेपालमा पहिलो पटक मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण, न्युरोसर्जरी र सघन उपचार सेवा (आइसियु) को सुरुआत वीर अस्पतालबाटै भएको थियो। ५ जना जनशक्तिबाट सुरु भएको यो अस्पतालले हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक उत्पादनमा समेत मुख्य भूमिका खेलिरहेको छ।

स्थापनाकालमा नागरिकलाई निःशुल्क उपचार, औषधी र खानाको व्यवस्था गरिए पनि हाल उपचारबापत शुल्क लिने गरिएको छ। यद्यपि, बिरामीलाई निःशुल्क खाना उपलब्ध गराउने १३६ वर्ष पुरानो परम्परा भने अझै कायम छ।

बढ्दो बिरामीको चाप, भौतिक पूर्वाधारको अभाव र उपकरण आधुनिकीकरण जस्ता चुनौतीका बीच वीर अस्पतालले नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो ऐतिहासिक पहिचान कायम राख्दै आएको छ।