11/28/2026, 10:16:52
शनिबार, मङि्सर १३, २०८३
- रास्वपा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम -

रास्वपाले ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने, पहिलो चरण सुर्खेत र धनगढीमा

सुर्खेतमा शनिबार र आइतबार तथा धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण; सभापति रवि लामिछाने, सोविता गौतम र विपिनकुमार आचार्य सहभागी हुने

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ भने अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिनेछ । कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ र कार्यक्रममा उपसभापति सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन् ।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्य–मान्यता, अनुशासन र राजनीतिक संस्कारसँगै ‘क्यान्डिडेट क्लब’ तथा ‘लिडरसिप एकेडेमी’ को अवधारणा–कार्यदिशा र सङ्गठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणबारे छलफल हुनेछ ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग सङ्गठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले संवाद गर्ने कार्यक्रम छ भने दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्य-सम्पादनबारे प्रशिक्षण दिइनेछ ।

यसका साथै पार्टीको ब्रान्डिङ, प्रचार-प्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण हुने र अन्तिम सत्रमा सभापति लामिछानेले राजनीतिक कार्यदिशा, प्राथमिकता तथा रणनीतिबारे सम्बोधन गर्नुहुने प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
तालिका र स्थान ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण; पहिलो चरण कर्णालीको सुर्खेतमा शनिबार–आइतबार र सुदूरपश्चिमको धनगढीमा मङ्सिर १४–१५ गते (प्रवक्ता जगदीश खरेल) ।
सहभागी नेतृत्व सभापति रवि लामिछानेद्वारा कर्णाली प्रशिक्षण उद्घाटन र अन्तिम सत्रमा सम्बोधन; उपसभापति सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी/नेता सहभागी ।
प्रशिक्षणका विषय पहिलो दिन: सङ्गठन अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र चुनाव तयारी; दोस्रो दिन: स्थानीय/प्रदेश चुनाव रणनीति, वाचापत्र कार्यान्वयन, कार्ययोजना, ब्रान्डिङ र सामाजिक सञ्जाल ।