

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
यद्यपि, मंगलबारदेखि बुधबार दिउँसो साढे २ बजेसम्म पनि ‘पावर सेयरिङ’मा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री शाहीले मात्रै शपथ लिएका हुन् । सकेसम्म सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रयास गरे पनि शाहीले त्यसमा सहमति जुटाउन सकेनन् ।
‘पावर सेयरिङ’ कसरी गर्ने भन्ने विषयमा एमालेका तर्फबाट संसदीय दलका नेता यामलाल कँडेल, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मुख्यमन्त्री शाही र नेकपा प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही लगातार छलफलमा जुटेका छन् ।
“हामीले छलफल गर्दा मन्त्रालय भागबन्डामा कुरा टुङ्गिएको छैन, त्यसैले मुख्यमन्त्रीले मात्रै शपथ लिनुभयो,” इन्चार्ज चन्द्रबहादुर शाहीले रातोपाटीसँग भने, “मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ला ।”
३ वा ४ मन्त्रालयमा विवाद
सत्ताको नेतृत्व पाएको नेकपाले मुख्यमन्त्री बाहेक ३/३ मन्त्रालयमा भागबन्डा गर्नुपर्ने कुरा राखेको छ । तर एमालेले विगतकै परम्परा अनुसार ४ मन्त्रालय पाउनुपर्ने प्रस्ताव राखेको छ ।
एमाले सांसद विनोदकुमार शाहका अनुसार, यसअघि कांग्रेसले सम्हालेका मन्त्रालय नै एमालेले पाउनुपर्ने कुरा राखिएको छ । त्यो बेला सत्ताको नेतृत्वमा एमाले हुँदा कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय पाएको थियो ।
एमालेले मुख्यमन्त्री बाहेक आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र कृषि मन्त्रालय पाएको थियो । अहिले कानुन मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभिसकिएको छ ।
यद्यपि, एमालेले यसअघि कांग्रेसले सम्हालेकै मन्त्रालयमा पाउनुपर्ने अडान राखेको छ । सांसद शाहले भने, “कानुन मन्त्रालय छुट्टै नभए पनि मुख्यमन्त्री कार्यालयमै छ, त्यहाँ पावर धेरै नै छ, त्यसैले एमालेले ४ मन्त्रालय पाउनुपर्छ ।”
यदि एमालेले आफ्नो अडान नछाडेको खण्डमा नेकपाले भौतिक पूर्वाधार र कृषि मन्त्रालय मात्रै पाउने छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































