07/29/2026, 12:16:29
बुधबार, साउन १३, २०८३

विश्व बाघ दिवसमा नेपालले सार्वजनिक गर्यो ५औं राष्ट्रिय गणनाको तथ्यांक, चार वर्षमा ७४ बाघ थपिए, कुल संख्या ४२९ पुग्यो


काठमाडौँ – विश्व बाघ दिवसको अवसर पारेर नेपालले पाँचौं राष्ट्रिय बाघ गणनाको विस्तृत तथ्यांक सार्वजनिक गरेको छ। नयाँ गणना अनुसार पछिल्लो चार वर्षमा नेपालमा ७४ वटा बाघ थपिएका छन्। सन् २०२२ को चौथो गणनामा ३५५ वयस्क बाघ रहेकोमा अहिले यो संख्या बढेर ४२९ पुगेको छ।

तथ्यांक अनुसार विभिन्न संरक्षण क्षेत्रहरूमा बाघको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११२, बाँके राष्ट्रिय निकुञ्जमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५० तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ रहेको विभागले जनाएको छ।

बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय लक्ष्य (टीएक्स२) सफलतापूर्वक पूरा गरिसकेको नेपाल अब ‘मानव र वन्यजन्तुको सहअस्तित्व’ (Human-wildlife coexistence) को विश्वव्यापी नमुना बन्ने लक्ष्यतर्फ अघि बढिरहेको विज्ञहरूले बताएका छन्।

लङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघको पारिस्थितिकीका विज्ञ डा. श्यामकुमार शाहका अनुसार अझै पनि केही प्रमुख बासस्थानहरूमा बाघको संख्या वातावरणीय वहन क्षमता (Carrying capacity) सम्म पुग्न बाँकी छ। उनले युवा बाघहरू जैविक कोरिडोर हुँदै यात्रा गर्दा बस्ती नजिक पुग्ने हुनाले द्वन्द्व व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।

यसैगरी वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछानेले बाघको संख्या बढे पनि मानवीय क्षति शून्यमा झार्नु अबको मुख्य चुनौती रहेको बताएका छन्। उनका अनुसार ५ प्रतिशतभन्दा कम बाघ मात्र आक्रमणका लागि जिम्मेवार हुन्छन्। त्यसैले सम्पूर्ण बाघलाई खतरा ठान्नुको सट्टा ‘समस्याग्रस्त बाघ’को पहिचान, वनको किनारमा झाडी हटाउने, स्थानीयलाई सचेत गराउने र पशुधन बीमा बलियो बनाउनुपर्ने उनको सुझाव छ।