मुस्ताङ, साउन १३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३, जोमसोममा रहेको होटेल शिन्तामणि विश्वका उत्कृष्ट लक्जरी होटेलमध्ये पहिलो स्थानमा परेको छ । लक्जरी लाइफ स्टाइल म्यागेजिन रोब रिपोर्ट ले सन् २०२६ मा संसारका ५० उत्कृष्ट लक्जरी होटेलमा शिन्तामणि मुस्ताङलाई पहिलो नम्बरमा राखेको हो ।
शेर्पा हस्पिटालिटी ग्रुपले सन् २०२३ अगस्तमा सञ्चालनमा ल्याएको शिन्तामणिले विश्वका महँगा होटेल तथा रिसोर्टलाई पछाडि पार्दै उत्कृष्ट लक्जरी होटेलको उपाधि जितेको ग्रुपद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्वप्रसिद्ध डिजाइनर बिल बेन्स्लीको डिजाइनमा परम्परागत ढुङ्गा प्रयोग गरी २९ कोठाको यो सुविधासम्पन्न होटेल निर्माण गरिएको हो ।


होटेलमा वार्षिक एक हजारको हाराहारीमा विदेशी पाहुना आउने गरेका छन् । विश्वभरबाट विलासी जीवनशैलीमा रमाउने पर्यटकहरूमा अधिकांश अमेरिका, ताइवान, बेलायत तथा युरोपेली देशका रहेको मार्केटिङ तथा सञ्चार प्रबन्धक एलेना सेनले बताउनुभयो । सेनले भन्नुभयो, “यो छनोटले नेपाल विश्वस्तरीय विलासी पर्यटन गन्तव्यका रूपमा उदाएको छ, यस्तो विलासी आतिथ्यले पर्यटन प्रवर्धनमा थप सघाउने छ ।”
होटेल शिन्तामणिमा बस्न अग्रिम बुकिङ गरी प्रतिरात २,००० देखि २,३०० अमेरिकी डलरसम्म लाग्छ । यहाँ आउने हरेक पर्यटकले कम्तीमा पाँच रात बस्नुपर्ने प्रावधान छ । होटेलले पाहुनाहरूलाई पाँच दिनको अवधिमा पदयात्रा, प्राचीन गुम्बा, गुफासहित बौद्ध धर्मको अध्ययन तथा परम्परागत तिब्बती चिकित्सा पद्धति ‘आम्ची’ सेवा, घोडचढी, धनुषवाण खेलसहित मुस्ताङका अन्य विभिन्न आकर्षक स्थलको भ्रमण गराउने गर्दछ ।
शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नाम्ग्याल शेर्पाले यो एउटा होटेलको उपलब्धिमा मात्र सीमित नभई नेपाललाई विश्वकै उत्कृष्ट विलासी पर्यटन गन्तव्यका रूपमा पुनस्र्थापित गराएको बताउनुभयो ।


सूचीका शीर्ष ५ लक्जरी होटेलहरू:
- शिन्तामणि मुस्ताङ (नेपाल)
- सिङ्गिता क्विटोन्डा (रुवान्डा)
- होप लज (स्कटल्यान्ड)
- पार्क हयात टोकियो (जापान)
- शक्ति (भारत)
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबिन श्रेष्ठले विश्वकै सम्पन्न परिवार र व्यवसायीहरू होटेल बसाइका लागि हिमाली जिल्लामा पुग्दा नेपालमा लगानीको वातावरणसमेत बन्ने बताउनुभयो ।


यसअघि पनि होटेल शिन्तामणिले नेसनल जियोग्राफी च्यानल को सन् २०२४ मा विश्वका उत्कृष्ट २२ होटेलभित्र पर्दै ‘बेस्ट अफ दी बेस्ट’ तथा सन् २०२५ मा ‘बेस्ट लक्जरी एडभेन्चर होटेल’ को उपाधि प्राप्त गरिसकेको छ ।
समुद्री सतहबाट २,८०० मिटरको उचाइमा रहेको यस होटेलमा पाहुनाबाहेक अन्यलाई अवलोकनको अनुमति छैन । मुस्ताङमा गत वर्ष २,९३,०७२ विदेशी पर्यटकले भ्रमण गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा १,३८,४७१ (८९.५७ प्रतिशत) ले बढी हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































