07/29/2026, 11:03:54
बुधबार, साउन १३, २०८३

तीन महिनामा १४ नेपाली चलचित्र रिलिज, ४ वटाले मात्र गरे करोडमाथिको व्यापार


काठमाडौँ, साउन १३ गते । चालू वर्षको सुरुवाती तीन महिना (वैशाखदेखि असारसम्म) मा १४ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। तर, यीमध्ये जम्मा ४ वटा चलचित्रले मात्र बक्स अफिसमा एक करोड रुपियाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएका छन्।

चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार वैशाख २५ गतेबाट प्रदर्शनमा आएको ‘लालीबजार’ ले ९ करोड ३२ लाख ९ हजार ९२५ रुपियाँ कमाउँदै वर्षकै सर्वाधिक सफल चलचित्र बनेको छ। यो चलचित्रले ५१ औँ दिनसमेत पूरा गरेको छ।

त्यस्तै अन्य सफल चलचित्रहरूमा:

परालको आगो’: ४ करोड २८ लाख रुपियाँ
रोल नं. १’: १ करोड ७८ लाख २३ हजार ९०८ रुपियाँ
मितज्यू’: १ करोड ३२ लाख रुपियाँ

असार महिनामा रिलिज भएका अन्य धेरै चलचित्रको व्यापार भने निकै निराशाजनक रह्यो। जितु नेपालको ‘आई एम जितबहादुर’ ले ३१ लाख ७ हजार ६९२ रुपियाँ मात्र कमाउन सक्यो भने ‘भागदौड’ ले सबैभन्दा कम १ लाख १९५ रुपियाँ मात्र कलेक्सन गर्‍यो।

अपेक्षाकृत अनुकूल समय नमिल्नु, बर्खायाम र विश्वकप फुटबल जस्ता कारणले गर्दा ठुलो लगानीमा बनेका चलचित्रले पनि घाटा सहनुपरेको चलचित्रकर्मीहरू बताउँछन्।