झेङ्झाउ, चीन — काठमाडौंमा छँदा अनेकन् मोडल र सुविधाका विद्युतीय गाडी देख्दा लाग्थ्यो, यी बन्छन् चाहिँ कहाँ ? बनाउँछन् चाहिँ कसरी ? मनमा यस्तै जिज्ञासा भएको म वैशाख अन्तिम साता चीन पुगे । त्यो पनि चिनियाँ बजारमा मात्रै नभएर नेपालमा पनि बलियो उपस्थिति बनाइरहेको बीवाइडी नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्क र अभानी विज्ञापन एजेन्सीको समन्वयमा । वैशाख २३ देखि २९ सम्मको यो भ्रमणमा मसँगै थिए अन्य पत्रकार कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सरसहित दुई दर्जन सञ्चारकर्मी । यो यात्रामा हामी गोन्जाउ हुँदै झेङझाउ र सेन्जेन पुग्यौँ ।
कार बनाउने ठाउँमा पक्कै धेरै मान्छे होलान् । भीडभाड र भ्यानभ्याइ होला । अनि बजारमा जान तयारी अवस्थामा राखिएका गाडीहरूको लस्कर पनि होला । मैले यस्तै सोचेको थिए । अनि त्यहाँ पुगेर प्रशस्तै फोटो र भिडियो पनि खिच्ने योजना पनि बनाएको थिएँ ।


गोन्जाउलाई ट्रान्जिट बनाएर हामी चीनको झेङ्झाउ सहर पुग्यौं । चिनियाँ सहर सुन्दर त थिए नै, विशाल पनि उत्तिकैका । काठमाडौंका सडकमा चोक चोकमा ट्राफिक प्रहरी देखेको मलाई यहाँका सडकमा गाडीको ताँती हुँदा पनि ट्राफिक प्रहरी नदेख्दा फरक अनुभव भयो । सडकमा मोटरसाइकल त देखिँदै देखिएन । इभी (विद्युतीय) स्कुटर भने प्रशस्तै देखिए । त्यसका लागि छुट्टै लेनको पनि व्यवस्था रै’छ ।
झेङझाउको सडकमा बीवाइडी कार छ्याप्छ्याप्ती गुडिरहेका देखिन्थे । यस्तै, दृश्य नियाल्दै झेङ्झाउकै डि-स्पेस परिसरमा पुग्यौं । त्यहाँ हामीलाई बीवाइडीको अवधारणा कसरी आयो ? कुन सालमा बीवाइडीको कुन मोडल आयो ? कसरी बीवाइडी कारहरु बने ? भनेर सबैकुराको बेलिबिस्तार लगाइयो ।
त्यसपछि सबैको चासो र पुग्नैपर्ने बीवाइडी कार उत्पादन गर्ने कारखानातिर लाग्यौं । १०.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एयरपोर्ट इकोनोमी जोनमा रहेको बीवाइडीको कारखाना पुग्दा सुनसान थियो । तर, कारखाना प्रवेशमा कडाइ गरिएको थियो । भिडियो र फोटो खिच्न प्रतिबन्ध थियो । कारखाना छिर्दै गर्दा हाम्रो २४ जनाको टिमलाई बीवाइडी नेपालका कन्ट्री म्यानेजर लिन जिलले कारखानाबारे बुझाउने जिम्मेवारी लिएका थिए ।


उनले बोलेको आवाज सुन्न सबैलाई ब्लुटुथको व्यवस्था गरिएको थियो । कारखानाको क्षमता, कसरी काम भइरहेको छ लगायतबारे अंग्रेजी भाषामा भन्थे । उनले भनेका यी सबै कुरा ब्लुटुथमार्फत सबैको कानमा पुग्थ्यो । उनले एक मिनेटभन्दा कम समयमा एउटा बीवाइडी कार तयार हुने कुरा भनिरहँदा मसहित कारखानाको अवलोकन गरिरहेकाहरू आश्चर्यमा पर्यौं । कसरी सम्भव भयो यस्तो भन्ने सबैको मनमा परिरह्यो ।
उनले भनेका कुरा कारखाना भित्र भइरहेको कामले नै पुष्टि गरिरहेको देखिन्थ्यो । कारखानामा विद्युतीय सवारी, मुख्य पार्टपुर्जा, पावर ब्याट्री, नयाँ सामग्री तयार हुन्छ । कार बनाउने ठाउँमा रोबोटको भीड देखिन्थ्यो । मान्छे फाटफुट्ट रूपमा कहीँकतै भेटिन्थे । एकोहोरो रोबोटले अह्राए अनुसारको काम गरिरहेका थिए । यो दृश्य देख्दा लाग्थ्यो अब मानिसद्वारा गर्ने काम करिब–करिब सकियो, रोबोट युग सुरु भयो ।


जहाँ कारका पार्टपुर्जा जोड्ने, त्रुटि पहिल्याउने जस्ता काम रोबोटबाटै भइरहेको थियो । सेप्टेम्बर २०२१ मा बीवाइडीले झेङ्झाउ एयरपोर्ट इकोनोमी जोनमा कार र ब्याट्री कारखाना सञ्चालनमा ल्याएको हो । बीवाइडी कारखानामा अत्याधुनिक विद्युतीय सवारी र कारका मुख्य पार्टपुर्जा बनाइन्छ । विद्युतीय कार उत्पादनका मुख्य प्रक्रिया स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्बलिङका साथै बीवाइडीले यहाँ अन्य महत्त्वपूर्ण कारखाना पनि स्थापना गरेको रै’छ ।


जहाँ सवारीसाधनका मोटर, इलेक्ट्रोनिक कन्ट्रोल, पावर सप्लाई, पावर ट्रेन, एयर कन्डिसनिङ, स्टेयरिङ, ट्रिम, बत्ती, फ्रेम, सिट र अन्य प्रमुख पार्टपुर्जाका साथै ब्लेड ब्याट्री पावर तयार हुन्छ । झेङ्झाउमा बीवाइडी तयार पार्न आवश्यक सबै संरचना तयार गरिएको छ । कारखानाको मुख्य प्रतिस्पर्धात्मक क्षमता यसको ९८ प्रतिशत स्वचालन दर हो, जसले विश्वकै अग्रणी इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ स्तरलाई प्रदर्शन गर्दछ ।
कारखानामा प्रत्येक ५९ सेकेन्डमा एउटा नयाँ कार तयार हुन्छ । अहिले दैनिक १५ सयदेखि १७ सयसम्म कार तयार हुने गरेको छ । कारखानाको वार्षिक उत्पादन क्षमता ४ लाख युनिट रहेको छ । जसलाई विस्तार गरेर १० लाखभन्दा बढी गाडी उत्पादन गर्ने लक्ष्य कारखानाको छ । यो बीवाइडीको सबैभन्दा ठूलो प्लान्ट हो ।


यहाँ बीवाइडीका अनुसार ९८ प्रतिशत वेल्डिङको काम रोबोटद्वारा हुने गरेको छ, जहाँ १ हजार ५ सय रोबोट परिचालित छन् । नेपालबाट बीवाइडी कारखाना अवलोकनमा पुगेका पत्रकारलाई जानकारी दिँदै जिलले छोटो समयमै कम्पनीले रोबोटको सहायतामा ठूलो उपलब्धि हासिल गरेको सुनाए । लिन जिलका अनुसार कम्पनीका रिसर्च एन्ड डेभलभमेन्ट इकाईहरूमा मात्रै एक लाख २० हजारभन्दा बढी कार्यरत छन् । जहाँ प्रत्येक तीन सेकेन्डमा एउटा पावर ब्याट्री सेल तयार हुने कुरा पनि उनले सबैलाई सुनाए ।
कारखानामा काम गर्ने कर्मचारीलाई प्रत्येक दुई घण्टामा १० मिनेट रेस्ट गर्ने समय दिइएको रै’छ । यो कुरा पनि गज्जब लाग्यो ।


झेङझाउमा हामीले कार मात्र हेरेनौं ।
बीवाइडीको यु–९ रेस कारको मज्जा पनि लियौं । रेस ट्र्याकमा कार कुदाउने व्यवस्था गरिएको थियो । रेस कारलाई सुरुमा डान्स गराइयो । यी आकर्षक कारले सबैको ध्यान खिच्यो । आकाशे निलो र रातो रंगका कारहरूको अघिल्तिर उभिएर फोटो र भिडियो खिच्न हामीबीच प्रतिस्पर्धा नै चल्यो । पछि यही कारमा सँगै गएका साथीहरूले रेस ट्र्याकमा सहभागी भए । कतिले त आफैं चलाएर यसको अनुभव बटुले । मरुभूमि, उकालो, ओरालो, पानीमा, अफ रोडमा र तीव्र गतिमा पनि बीवाइडीका विभिन्न मोडलका कारहरू चलाएर सहभागीहरूलाई देखाइएको थियो ।
त्यसपछिको यात्रा हाम्रो सेन्जेन सहरतिर मोडियो । जहाँ सुरुमै हामी बीवाइडी हेडक्वार्टर पुग्यौं । त्यही क्षेत्रमा रहेको म्युजियम हेर्यौं । जहाँ बीवाइडी सुरु गर्दैगर्दा स्थापना गरिएका कार्यालय, बनेका कारका नमुनाहरू राखिएको थियो । ब्याट्रीको इतिहास झल्काउने ब्याट्री, सहरी सवारीसाधनको समस्या समाधान गर्न बीवाइडीले आफैं विकास गरेको रेल पनि यही तयार हुने रै’छ ।


यसको नमुना हामीले म्युजियममा देख्न पायौं । जहाँ अहिलेसम्म बीवाइडीले सार्वजनिक गरेका कारलाई खेलौना आकारमा भित्तामा सजाएर राखिएको दृश्य नौलो लागेको थियो । त्यस्तै, सेन्जेनमै करिब ९ मिनेट अर्थात् ८ मिनेट २६ सेकेन्डमा ९७ प्रतिशत कार चार्ज हुने ‘फ्ल्यास चार्जिङ’बारे प्रत्यक्ष हेर्न पाइयो ।
९ मिनेटको फ्ल्यास चार्जिङले ९ सय ८८ किलोमिटरसम्म विद्युतीय कार गुडाउन सकिने रहेछ । बीवाइडीले चीनभर ठूलो संख्यामा फ्ल्यास चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । चीनका विभिन्न सहर तथा स्थानमा ४ हजार २ सय ३९ स्टेसन निर्माण भइसकेका छन् । सन् २०२६ को अन्त्यसम्म चीनभर यस्ता २० हजार स्टेसन सञ्चालनमा ल्याउने बीवाइडीको तयारी रै’छ ।


निरन्तर प्राविधिक नवीनता (इनोभेसन) बाट मात्र कुनै पनि कम्पनीले समाजका लागि केही अर्थपूर्ण काम गर्न सक्ने बीवाइडी कम्पनीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुलियाङ सुनाए । सन् २००४ मा पहिलो पटक प्रस्ताव गरेको प्राविधिक सपना पछ्याउँदै २० वर्ष बिताएको सुनाउँदै उनले २०२४ सम्ममा त्यो लक्ष्य हासिल गर्न सकेको सफलताको कथा पनि सुनाए । उनी भन्दै थिए, ‘हामी सपना सिर्जना गर्ने, पछ्याउने र त्यसलाई पूरा गर्ने कम्पनी हौं । हामी सिर्जना गर्छौं र त्यसलाई पूरा गर्छौं ।’
यो बीचमा झेङझाउमै रहेको प्राचिन शाओलिन कुङ फु मन्दिर पनि पुग्यौं । यो मन्दिर चिनियाँ कुङ फुको जन्मभूमि र जेन बौद्ध धर्मको उद्गमस्थल रै’छ ।


यस प्रकारको इनोभेसनबाट मात्र कुनै पनि कम्पनीले समाजका लागि केही अर्थपूर्ण काम गर्न सक्ने सुलियाङको बुझाइ थियो । ‘सोच्नुस् त, २० वर्षअघि विद्युतीय सवारीसाधनमा कसलाई चासो थियो ?’ सुलियाङले हामीसँगको भेटमा भन्दै थिए, ‘सन् २००४ बेइजिङ इन्टरनेसनल अटो शोमा हामी सहभागी भएका थियौं । हामीले आफ्नो पहिलो इलेक्ट्रिक कन्सेप्ट कार प्रदर्शन गरेका थियौं, त्यो कार अहिले झेङझाउ संग्रहालय (म्युजियम) मा छ ।’


उनले नेपालको प्रसंग पनि कोट्याए । बीवाइडीको महत्त्वपूर्ण बजार भएको भन्दै सुलियाङले नेपालको प्रशंसा गरे । ‘करिब १० वर्षअघि पहिलो पटक मैले नेपालको भ्रमण गरेको थिएँ, त्यो बेला ममा के छाप परेको थियो भने त्यहाँ बिजुलीको अभाव छ । नेपालले कसरी विद्युतीय सवारीको विकासमा सघाउन सक्ला भन्ने थियो,’ सुलियाङले नेपाल भ्रमणको प्रसंग सुनाउँदै हामीलाई भने, ‘तर त्यहाँका सरकारी अधिकारी र साझेदारसँग कुराकानी गरेपछि नेपालको भावी विकासलाई लिएर सबै जना आशावादी भएको देख्दा निकै प्रभावित भएँ ।’ हाम्रो छोटो, तर महत्त्वपूर्ण बीवाइडी कार र ब्याट्री कारखानाको यात्रा सेन्जेन सहरमा आएर टुंगियो । यहाँबाट हामी दुई घण्टाको बस यात्रामा गोन्जाउ पुग्यौं र बीवाइडी गाडी उत्पादनमा देखिएको क्रान्तिको खबर बोकेर नेपाल फर्कियौं ।
– विमल खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































