11/29/2026, 04:09:46
शनिबार, मङि्सर १३, २०८३
*** दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ ***

दशौँ राष्ट्रिय खेलकुद सङ्घीयताको मर्म अनुसार सञ्चालन हुन्छ : मन्त्री सस्मित पोखरेल

सुर्खेतमा २२ विधा र बाँके–बर्दियामा पौडी तथा टेनिस हुने; पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा, मङ्सिर १६ मा प्रधानमन्त्री बालेन्द्र शाहबाट उद्घाटन

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

कर्णाली (सुर्खेत), मङ्सिर १२ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ सङ्घीयताको मर्मबमोजिम सञ्चालन हुने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस दुई विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दियामा भए पनि २२ विधाका खेल सुर्खेतमै हुने र मङ्सिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गर्नुहुने जानकारी दिनुभयो ।

प्रदेश रङ्गशाला हुँदाहुँदै पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा किन भन्ने जिज्ञासामा मन्त्री पोखरेलले सुर्खेतलाई मात्र कर्णाली नबुझ्न आग्रह गर्दै सङ्घीयताको मर्मअनुसार कर्णालीवासीका लागि काठमाडौँ छोडेर प्रतियोगिता कर्णालीमा ल्याइएझैँ जुम्लावासीका लागि पुरुष फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा गर्ने न्यायिक निर्णय भएको र महिला फुटबलको सेमिफाइनल तथा फाइनल भने प्रदेश रङ्गशालामा हुने प्रस्ट पार्नुभयो ।

कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आह्वान गर्दै अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतियोगिता हेर्न सहज वातावरण मिलाउन सघाउन अनुरोध गर्नुभयो ।

उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताले अनौपचारिक रूपमा प्रदेश रङ्गशालालगायत कर्णालीमा आठ विधाका खेल सुरु भइसकेको तथा प्रतियोगिताको पूर्ण तयारी भएको बताउनुभयो भने तयारीको थप प्रगतिबारे मङ्सिर १५ गते जानकारी गराइनेछ ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
उद्घाटन र स्थान मङ्सिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहबाट उद्घाटन; २२ विधा सुर्खेतमा, पौडी र टेनिस बाँके–बर्दियामा; पुरुष फुटबल सेमिफाइनल/फाइनल जुम्लामा र महिला फुटबल सेमिफाइनल/फाइनल प्रदेश रङ्गशालामा (मन्त्री सस्मित पोखरेल) ।
सहभागिता र सामाजिक पक्ष प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आह्वान; अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई अवलोकनमा सघाउन अनुरोध (मन्त्री सीता वादी) ।
तयारी र प्रगति कर्णालीमा अनौपचारिक रूपमा ८ विधाका खेल सुरु, पूर्ण तयारी पूरा; थप प्रगति मङ्सिर १५ गते सार्वजनिक गरिने (राखेप सदस्य सचिव रामचरित्र मेहत्ता) ।