11/29/2026, 09:36:26
आइतबार, मङि्सर १४, २०८३

स्थानीय तह निर्वाचनको पूर्व-तयारी तीव्र, देशभरका १० हजार ९६७ मतदान स्थल पुनरवलोकन हुँदै

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहज बनाउन मतदान स्थल पुनरवलोकन; वडा र जिल्ला हुँदै आयोगबाट अन्तिम निर्णय हुने प्रवक्ता भट्टराईको भनाइ


काठमाडौँ, मङ्सिर १३ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्ष्य गर्दै आवश्यक पूर्व-तयारी अघि बढाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावली अद्यावधिक तथा मतदान स्थल पुनरवलोकन निर्देशिकाअनुसार देशभरका १० हजार ९६७ मतदान स्थल पुनरवलोकनको काम तीव्र गतिमा अघि बढाइएको हो ।

विगतमा निर्वाचनका समयमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान स्थल पुग्न कठिन भएको गुनासो आएकाले निर्वाचनको मिति घोषणा हुनुअघि नै सबै मतदाताका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले पुनरवलोकन सुरु गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

स्थानीय तहमा वडाध्यक्षको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरी हालका मतदान स्थल उपयुक्त भए/नभएको समीक्षा गरिने तथा अपायक परेको वा व्यावहारिक समस्या देखिए स्थान परिवर्तनका लागि सिफारिस भई आएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा राजनीतिक दल र सरोकारवालासँग छलफल गरी जिल्लाबाट अन्तिम सिफारिस आयोगमा पठाइने उहाँले जानकारी दिनुभयो ।

जिल्लाबाट प्राप्त सिफारिसमाथि अध्ययन गरी मतदान स्थल परिवर्तन गर्ने वा नगर्ने अन्तिम निर्णय आयोगले गर्ने तयारी रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले एक पटक निर्धारण भएका मतदान स्थल स्थानीय तहसँगै सङ्घीय र प्रदेश निर्वाचनमा समेत प्रयोग हुने भएकाले समग्र निर्वाचन प्रणालीलाई ध्यानमा राखी प्रशासनिक तथा व्यवस्थापकीय पूर्वतयारीलाई प्राथमिकता दिइएको बताउनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
पूर्वतयारी र सङ्ख्या आगामी स्थानीय तह निर्वाचन लक्षित पूर्वतयारी; मतदाता नामावली अद्यावधिक र देशभरका १०,९६७ मतदान स्थल पुनरवलोकन दुई साताअघिदेखि तीव्र (प्रवक्ता नारायणप्रसाद भट्टराई) ।
सिफारिस र निर्णय प्रक्रिया वडाध्यक्षको नेतृत्वमा राजनीतिक दलसँग समीक्षा गरी सिफारिस; प्रजिअ संयोजकत्वमा दल तथा सरोकारवालासँग छलफल गरी जिल्लाबाट आयोगमा अन्तिम सिफारिस; आयोगबाट अन्तिम निर्णय ।
उद्देश्य र दीर्घकालीन प्रयोग ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलगायत सबै मतदातालाई सहज र पहुँचयोग्य बनाउने; स्थानीयसँगै सङ्घीय र प्रदेश निर्वाचनमा समेत प्रयोग हुने गरी समग्र तयारी ।