जिरी पुग्दा अपराह्न ४:०० बजेको थियो । काठमाडौँबाट सात घण्टाको सडक यात्रा त्यति सहज थिएन । चैत २७ गतेको दिन प्रथम बागमती पर्यासाहित्य महोत्सव–२०८२ मनाउने मेलोमा जिरी टेकिएको थियो ।
जिरी नामको मनोरम उपत्यका, जसको चारैतिर गाढा हरियाली छाएका पहाडहरू छन् । बिचमा छ रिकापी आकारको हरियो उपत्यका; यही हरित उपत्यकाको उत्तरी कुनामा छ– लिङ्कन बजार । बजारकै हृदय तटमा गहिरो सतहभित्र जिरीखोला छ । लिङ्कनवासीलाई सुकिलो जाँगर छर्दै, चराको लयमा सङ्गीतको सरगम भर्दै, आगन्तुकलाई मिठो स्वागत गर्दै निरन्तर बगिरहेको छ– जिरीखोला । कविशिरोमणि लेखनाथ पौडेलले कुँदेको कविताले भने झैँ जिरी उपत्यका नयनानन्दका साथै रसनानन्ददायक जादु नगरी हो । यस उपत्यकाको प्रवेश विन्दु हो– हाटडाँडा । हनुमन्ते पहाडको अँगालोमा आलिङ्गनरत खावा भन्ज्याङ पार गरेपछि हाटडाँडा पुगिन्छ । हाटडाँडाबाट तेर्पाया ओरालो हुँदै बगेको सडक पछ्याउँदै अघि बढेपछि एउटा भव्य स्वागतद्वारले एक अँगालो हार्दिकता पस्कन्छ, ‘क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरीमा स्वागत छ ।’ त्यसपछि सडकको दायाँबायाँ उभिएका राष्ट्रिय झन्डाका लहरले एक भूगोल गर्व पस्कन्छन्, ‘रातो र चन्द्रसूर्य जङ्गी निसान हाम्रो ।’ सहरको मुटुभित्र भँगाला भँगाला भएर निजी पुलसहित बसेको जिरी खोलाले एक धड्कन माया पस्कन्छ । अभैm अघि बढेपछि माथि डाँडाको सल्लेरी वनले आत्मीयताको चम्मर हम्कँदै भन्छ– ‘प्रिय आगन्तुक, आऊ जिरीको आनन्दमा डुब ।’
विद्युतीय ससाना गाडी चढेर आएका हामी काठमाडौँदेखि नै बेग्लाबेग्लै समूहमा बाँडिन पुग्छौँ । कोही अघि अनि कोही पछि हुँदै गुडेका हाम्रो जिरी टेक्ने समयको संयोग पनि बेग्लाबेग्लै बन्न पुग्छ । संयोगले हामी सबैभन्दा पहिला जिरी आइपुगेका छौँ । गाडीबाट ओर्लिएपछि आयोजकले तय गरिदिएका होटेलमा पुग्छौँ । प्रगति राई, लुमन्ती चित्रकार, सिर्जना अर्याल, अनिता कोइराला, भारती न्यौपाने, रमी प्रिया, सुमी पोखरेल र मसमेत आठ जना एभरेस्ट होटेलमा बस्ने भयौँ । प्रतीक ढकाल, डा. सञ्जीव उप्रेती, डा. अर्चना थापा, डा. रोशन शेरचन, कवि भूपिन, राजकुुमार बानियाँ, डा. अशोक थापा, निमेष निखिल, रमेश भुसाल र प्रदेश सरकारबाट आएका अरू सबै विशिष्ट पाहुुनाको बास यार्सा होटेलमा हुने भयो । मलाई आपूm बस्ने होटेलको नाम पढ्दा गर्वले मुटु ढक्क फुल्यो । मैले होटेलको आँगनमा उभिएर सगरमाथालाई सम्झेँ । होटेलमा झोला बिसाएपछि लिङ्कन नगरीमा एक फन्को पैदल भ्रमण ग¥यौँ । यसको पनि हृत्केन्द्रमा रहेर ठाउँ ठाउँमा बाँडिएर पनि उत्तिकै आह्लादकारी रहन सफल भएको जिरीखोलाको नूतन धुनमा हरायौँ ।


जिरी त्यो नगरी हो जहाँ जति पटक आए पनि अघाइँदैन । जति हेरे पनि धित मर्दैन । त्यसको एक मात्र कारण यहाँको हरियाली हो । धुलोमैलो, प्लास्टिकको अतिक्रमणले नछोएको प्रकृति हो । म चौथो पटक जिरी आएकी हुँ । कार्यक्रम संयोजक विष्णुप्रसाद आचार्य व्यवस्थापनमा धमाधम लाग्नुभएकै छ । पहिलोपल्ट जिरी आएका साथीहरूलाई जिरी घुमाउने विचार गरेँ । एकैछिनको सल्लाहमै अनिता कोइराला, भारती न्यौपाने, सुमी पोखरेल, सिर्जना अर्याल, प्रतीक ढकाल र मसमेत छ जनाको घुमन्ते टोली बनिहाल्यो । प्रगति, लुमन्ती र रमी होटेलमै आराम गर्ने हुनुभयो ।
हिँड्दै जाँदा प्रतीक दाइले हिमालका कुरा गर्नुभयो । पूर्वीय दर्शनका रोचक प्रसङ्ग सुनाउनुभयो । प्रतीक दाइ साथमा भएपछि हिमाल र जीवनको ज्ञानगङ्गाको त सागरमै डुब्न पाइन्छ, चुर्लुम्मै । गफिँदै हिँड्ने क्रममा बजारभन्दा तल जिरीखोलाको तीरैनिर पुग्छौँ जहाँ विश्वचर्चित सगरमाथा आरोही तेन्जिङ शेर्पा र सर एडमन्ड पर्सिभिल हिलारीले सगरमाथा आरोहणमा जाँदा बास बसेको भनिएको एउटा सानो कटेरो छ । त्यही कटेरोको परिसरलाई जिरीवासीले संरक्षण गरेर तेन्जिङ हिलारी पार्क बनाएका छन् । जहाँ पुगेपछि काँडेतारको बार हालेको सानो सानो कटेरो र सुनौला रङका दुइटा प्रतिमासँग हाम्रो साक्षात्कार हुन्छ । तेन्जिङ र हिलारीले हामीलाई गर्वको आभास दिलाउँछन् ।
आरोहण भनेको जीवन र मृत्यु, सफलता र असफलताको अनियमित आकस्मिकता हो । आकाशतिर हुत्याएको सिक्का भुइँमा खस्दा दुईमध्ये एउटा पाटो पल्टिए जस्तै आरोहणमा होमिएका प्रत्येक जीवनले सफलता र असफलतामध्ये एक भोगेर फर्कन्छ । जीवन र मृत्युमध्ये एक लिएर फर्कन्छ । तेन्जिङ र हिलारीलाई भाग्यले साथ दियो । उनीहरूले सफलता र जीवन दुवै लिएर फर्के । पासाङ ल्हामुले सफलता हासिल गरिन् तर उनलाई जीवनले साथ दिएन । संसारमै पहिलोपल्ट अन्नपूर्ण हिमाल आरोहण गरी आठ हजार मिटरभन्दा माथिल्लो उचाइमा मानव पाइला पु¥याएका सफल आरोही मोरिस हेर्जोग र लुइस लासनालले सफलता र जीवन दुवै लिएर आए । तेन्जिङ हिलारी पार्कमा उभिएर सफलता र असफलता अनि जीवन र मृत्युबारे यस्तै यस्तै चिन्तन–मन्थन ग¥यौँ ।


विसं २०१४ मा स्विट्जरल्यान्ड सरकारको सहयोगमा स्थापित गाई आनुवांशिक स्रोतकेन्द्रको अवलोकन ग¥यौँ । जहाँ मनाङ जिल्लामा मात्र पाइने सानो आकारको लुलुगाईदेखि विदेशी मुलुकबाट ल्याइएका उन्नत जातका गाईपालन गरिएका छन् । यस केन्द्रले गाईको आनुवांशिक स्रोत संरक्षण, संवर्धन र सदुपयोग गर्दै नेपाली किसानलाई गाईपालनको व्यवसायीकरणमा अघि बढाउने काम गरिरहेको छ । कार्यालयमा सहलेखापाल शिष्टप्रसाद चौलागाईं र नायब प्राविधिक सहायक बालकुमार दाहालसँग भेट भयो । कर्णालीका शिष्टजी र सप्तरीका बालकुमारजीले हामीलाई सामान्य औपचारिकता मात्रै दर्साएनन्, बरm बडो हार्दिकतासाथ फार्मका गतिविधिबारे जानकारी दिनुभयो । कुन गाई कुन देशबाट ल्याइयो, कुन प्रजातिको गाईले के कति दुध दिन्छन्, ती के कस्ता स्वभावका हुन्छन् भन्ने जानकारी दिनुभयो । झन्डै झन्डै कुराउनी बन्ने प्रक्रियामा रहेको खुवा–दुध थपी थपी खुवाउनुभयो ।
गाई फार्मबाट बिदा भएर होटेलमा आयौँ । साथीसँग सुबिस्ताको रात बितायौँ । यो अवसर जुराइदिएको थियो– बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिकाले । भोलिपल्ट बिहान आयोजकले एउटा हृदयरञ्जक ठाउँमा पु¥याए । त्यहाँ पुगेपछि लाग्यो मानौँ यो भूमि पूर्वीय दर्शनमा वर्णित स्वर्गलोककै एउटा अंश हो । कुनै अर्कै जादुमयी लोकबाट कपासको टुक्रा हावामा तैरिँदै उडे झैँ उड्दाउड्दै अचानक यस ठाउँमा अवतरित हुन आइपुगेको हो । यसको सम्पूर्णतामा कहीँकतै खोट छुटेको पो छ कि भनेर मेरा आँखाले खोज्न थाल्छन् तर जति खोजे पनि यहाँ कुनै पनि कुराको कमी देख्तिनँ । त्यसको एक मात्र कारण, यो भूमि मानवीय अतिक्रमणबाट मुक्त छ । चोटरहित छ । स्वस्थ र शान्त छ ।
शिरमा हिउँको ताज लगाएर पूर्व उत्तरमा हाँसिरहेको चेर्दुङ डाँडा छ । चेर्दुङले मानौँ भनिरहेछ, उज्यालोको आवश्यकता परे मलाई सम्झनू । म गौरीशङ्करको आभा मागेर पठाइदिउँला । पश्चिमतिर हनुमन्ते पहाड छ । हनुमन्ते पनि भन्छ, आरामबिराममा मलाई सम्झनू, कहिल्यै मुर्झाउन नपर्ने सञ्जीवनी पठाइदिउँला । चेर्दुङ र हनुमन्तेलाई दायाँबायाँ राखेर गुराँसे पहाड बिचमा उभिएको छ । छातीमा ढकमक्क फुलेको गुराँसे उद्यान बोकेर गौरवसाथ उठेको पहाड हेरिरहँदा लाग्छ, यसलाई रच्ने, सिँगार्ने सृष्टिकर्ताले एउटा सिङ्गो युग खर्चेर सोची सोची–कुँदी कुँदी रचेको हुनु पर्छ । यहाँ पुगेर दृश्यावलोकन गर्ने आफैँलाई बिर्सन्छन् र छिनको छिनमै मदहोसीमा डुबिसक्छन् ।
सबेरै यति सुन्दर उद्यानमा घुम्ने सौभाग्य मिल्यो । यो भ्रमण पनि मूल कार्यक्रमभित्रकै एउटा सत्र हो । अनि यस सत्रलाई दिइएको नाम हो– प्रकृति सेसन । कार्यक्रम संयोजक विष्णुप्रसाद आचार्य, सञ्चालक डा. रोशन शेरचन र जिरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजकुमारी खत्रीको परिकल्पनाले पर्यासाहित्यको काव्यधारा बगिरहेको प्रकृतिको राजधानीमै हामीलाई ल्याई पु¥याएको हो । चराहरूले गाएको साझा गीतमा नृत्य प्रस्तुति दिन ठिक्क परेकी कुनै यौवना झैँ प्रतीत हुने उद्यान पुग्नु जस्तो ठुलो प्रकृति सेसन अरू के नै हुन सक्छ र ? यहाँ पुग्दा म मात्र लट्ठिइनँ, सँगै आएका मन्त्री, सांसद, नगरप्रमुख, उपप्रमुख र दर्जनौँ कवि–लेखक एकैचोटि लट्ठिए । यसको सौन्दर्यबोधले सबै सबै नै नतमस्तक भए । प्रकृतिको सम्मोहनले सबैलाई वाक्यहारा झैँ बनायो । यहाँको जल, जमिन, जङ्गल, जलवायु, चिमाल र हिमालले सबैलाई आहा आहा ! भनिरहने नै बनायो ।
जिरी अर्थात् संस्कृतिका धनी आदिवासी जिरेलको भूमि । एक समयको विश्वकै सर्वोच्च शिखर सगरमाथाको ढोकाका रूपमा परिचित भूमि । सगरमाथाका प्रथम आरोही सर एडमन्ड पर्सिभिल हिलारी र तेन्जिङ शेर्पाले टेकेको भूमि । टोनी हेगनले सम्भावनाका हजार ढोका छन् भनेर उजागर गरिदिएको त्यसबेलाको लुकेको स्वर्ग जिरीको पनि शिरताजको शोभा बनेर उभिएको गुराँसे पर्वतको गुराँस–उद्यानमा छु म अहिले ।


यहाँबाट हेर्दा तल गाढा हरियालीले रङ्गिएको जिरी उपत्यका देखिँदैछ । जिरीको शिरमाथि अर्धचन्द्र आकार लिएर उत्तरतिर ढल्किँदै उठेको पहाडको छातीमा अवस्थित गुराँस–उद्यानमा पुग्दा जोकोहीले प्रशान्तिको अनुभव गर्छन् । सल्लाका कलकलाउँदा रूख हावामा बयली खेलेको देख्ता, गुराँसका रङ्गीन फूल मुस्कुराइरहेको देख्ता जोकोहीको हृदय लुटिन्छ । भूमिमाताको निधारमा आँखाको नानी टल्केझैँ टल्किरहेको एउटा पोखरी पनि छ । पोखरीमा वाष्पमय किरण परावर्तित भइरहेछन् । छन्दमय छालहरू सलबलाइरहेछन् । लाग्छ, यहाँ प्रकृतिमाताका सुकुमार कविता हृदयस्थ छन् । अनि, यहाँको मृत्तिकाले, पत्थरले, वृक्षले, जललहरले नवरसको काव्यमय शरीर धारण गरेका छन् ।
आज २०८२ को अन्तिम महिनाको पनि झन्डै अन्तिम दिन अर्थात् २८ गते बिहान हामी यस उद्यानमा आइपुगेका हौँ । उद्यानको उत्तरी पाटोमा पूर्वपश्चिम बाहाँ फुकाएर पैलिएको भव्य पहाड छ । पहाडको मुटुनिर एउटा सानो पोखरी छ । पोखरीमा प्लास्टिकले झम्टा हालेको छैन । जल–सौन्दर्य बिगार्ने धमिलोले धावा बोलेको छैन । भूमाफिया र जलमाफियाको कुदृष्टि परेको छैन । हरेक हिसाबले सुन्दर, शान्त र पवित्र छ । संरक्षित होइन, बिगार्दै नबिगारिएको अक्षत रहेछ यो प्राकृत बगैँचा । पोखरी तटमा छन् चिमालका केही सुन्दर वृक्षहरू । पानीको ऐनामा आआफ्नै प्रतिविम्ब हेर्न ती थोरै झुकेका झैँ देखिन्छन् । छेउछाउका वृक्षले पानीको गहिराइमा उल्टा चित्र कोरिदिएका छन् । माथि सक्कली रmख हेरे पनि मनमोहक, प्रतिविम्बमा हेरे पनि उत्तिकै मनमोहक ।
पोखरीबाट थोरै अगाडि बढेपछि गुराँस फुलेका पखेराले कवितात्मक स्वागत गर्न थाल्छन् । गुराँस पनि एक/दुई होइन, सहस्र छन् । गुराँसका प्रत्येक थुँगामा कविताको महक छ र तिनमा सूर्यरश्मिको चहक र मधुमासको महक एकसाथ महसुस गर्न सकिन्छ । आयोजकले ढकमक्क फुलेका गुराँस हेर्दै बिहानको खाजा खाने प्रबन्ध मिलाएका छन् । उद्यानमा पुग्नेबित्तिकै सहभागीका हात हातमा आँत रसाउने खाजा आइपुग्छ । दृश्य हेर्दा सर्र हृदय रसाउँछ । कति रचनात्मक छ यो क्षण । कति उमङ्गमय छ । ठिक यही क्षण वसन्तको नवीन भाका हालेर कोइलीहरू सोध्छन्, भन, को हौ
तिमी ? कोइलीका स्वरले हृदय नचाइदिन्छन् । अविधा, लक्षण र व्यञ्जनाले भरिएका प्रकृतिका सबै सबै कविता यहीँ छन् । वृक्षका डालीमा कोइलीका मनोमुग्धकारी आवाज गुञ्जिएका छन् । प्रकृतिका कविता पढिरहँदा, पन्छीका जादुमयी चिरबिर सुनिरहँदा हृदयमा कविता फुर्छ–फुर्छ झैँ हुन्छ । त्यहीँमाथि जिरीका प्रथम नगरप्रमुख टङ्कबहादुर जिरेलले नै बच्छैबाजा बजाएर सबैलाई नचाएपछि त प्रकृतिको पनि के लाग्दो रहेछ र ? नाच्यो सिङ्गै प्रकृति नै छम छम छम ।
– भवानी खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































