05/02/2026, 11:29:46
शनिबार, बैशाख १९, २०८३

विश्व बौद्ध इतिहासमा काठमाडौं


इसापूर्व ५६३ वैशाख पूर्णिमाको दिन लुम्बिनीमा गौतम बुद्धको जन्म हुँदा सिधा रेखामा हवाई दूरी करिब २१० किलोमिटर पूर्व रहेको काठमाडौं उपत्यकाको सामाजिक, सांस्कृतिक, आर्थिक तथा वाणिज्य व्यवसायको अवस्था कस्तो थियो होला ? गौतम बुद्धको गृहनगर कपिलवस्तु लुम्बिनीबाट ३० किलोमिटर पश्चिम पर्छ । गौतम बुद्धले कपिलवस्तुमा २९ वर्षको उमेरसम्म गृहस्थ जीवन बिताएका थिए ।

कपिलवस्तुमा छँदा उनलाई काठमाडौंका बारेमा के कस्ता जानकारी थियो होला ? यी यस्ता प्रश्न हुन्, जसको महत्त्व ठूलै भए पनि प्रायः चिन्तनमनन हुने गरेको पाइँदैन । ३५ वर्षको उमेरमा उनले बोधिलाभ गरी बुद्ध भई प्रख्यात बने । उनको धर्म चारै दिशामा फैलियो । बौद्ध धर्म काठमाडौंमा कहिले प्रवेश भयो ? इतिहासका यी महत्त्वपूर्ण प्रश्नहरूमा पनि खासै बहस हुने गरेको पाइँदैन । तर यो आलेख पूरै बौद्ध धर्मको इतिहासमा काठमाडौं उपत्यकाको स्थानबारे केन्द्रित छ ।

गौतम बुद्धलाई वैशाख पूर्णिमाका दिन (इ.पू. ५२८) वर्तमानमा भारतको विहार प्रदेशको गयाको दक्षिणस्थित नैरन्जना नदी (आजभोलि फल्गु) को किनारस्थित बोधगयामा पीपलको बोटमुनि विभिन्न चरणका ध्यान गर्दै बोधि लाभ भएको थियो र बुद्ध बने । सात सातासम्म उनी त्यहीँ वरिपरि रहे । र, पहिलोपल्ट धर्मोपदेश (धर्मचक्र प्रवर्तन) गर्न उनी ऋषिपतनमृगदावन (सारनाथ) पुगे । त्यहाँ बुद्धले ६० शिष्यसहित भिक्षु संघको स्थापना गरे र तीन महिनाको वर्षावास बिताए । तीन महिनामा सबै भिक्षुले अर्हत्व लाभ गरिसकेका थिए र सबैलाई चारै दिशामा फैलिएर धर्म प्रचारका लागि पठाई आफू मगधको राजधानी राजगृहतिर लागे ।

धर्म प्रचारका लागि बुद्ध यति दत्तचित्त भएर लागेका थिए कि, विश्राम लिएनन् । र, उनको धर्म प्रचार यति प्रभावकारी थियो कि, सम्पर्कमा आएकाहरू धर्मलाभी हुन्थे र अर्हत्व प्राप्त गरी अर्हत् हुन्थे । अर्हत्को अर्थ जीवन र जगत्का बारेमा बुद्धले दिएको शिक्षालाई पूर्णतः आत्मसात् गरी अब आइन्दा पुनः जन्मिन नपर्ने, यही अन्तिम जन्म हुने हो । यो भनेको बुद्धको शिक्षालाई जानेको मात्रै नभएर अरूलाई पनि सिकाउन सक्षम भइसक्नु ।

बुद्धको शिक्षा भिक्षुहरूमा मात्रै सीमित थिएन, गृहस्थलाई पनि थियो । बुद्ध पुग्न नसकेको भूगोलमा पनि भिक्षुहरू पुग्थे, प्रचार गर्थे । गृहस्थहरूमा पनि विशेष गरी व्यापारीहरू टाढा–टाढासम्म पुग्थे र बुद्ध र बुद्धको शिक्षाबारे चर्चा गर्थे । श्रीलंकामा व्यापारीबाटै बौद्ध धर्म पुगेको थियो । बुद्ध विचरण गर्ने तत्कालीन वज्जी राज्यको राजधानी वैशालीबाट काठमाडौंको सिधा हवाई दूरी करिब दुई सय किलोमिटर हो । अझ, त्रिपिटकअनुसार मिथिला क्षेत्रमै पनि बुद्धको आउजाउ हुन्थ्यो । यस अवस्थामा बुद्धको शिक्षा काठमाडौं उपत्यकामा अविलम्ब पुगेको अनुमान गर्न सकिन्छ ।

कपिलवस्तुमाथि कोशल महाजनपदका राजा विडुडभले भीषण आक्रमण गर्दा त्यहाँका शाक्यहरू यताउता भाग्ने क्रममा केही काठमाडौं उपत्यका पनि पसेका थिए । आफूलाई विपद् पर्दा प्रायः पूर्वपरिचित वा सम्पर्क भएको ठाउँमा जाने गर्छन् । यस अर्थमा कपिलवस्तुका शाक्यहरू काठमाडौंसँग पहिल्यै परिचित रहेको अनुमान गर्न सकिन्छ । व्यापारीहरू टाढा–टाढासम्म पुग्ने र व्यापार–व्यवसाय गर्ने चलन उहिल्यैदेखि थियो र कपिलवस्तुमा आपत् आइपर्दा काठमाडौंमा आफन्त खोज्दै आएका हुन् ।

आफन्तहरू भेट्न बुद्धका भाइ एवं उपस्थापक (सचिव) भिक्षु आनन्द वैशालीबाट काठमाडौं आइपुगेको विवरण ‘मूलसर्वास्थिवाद–विनयसंग्रह’ मा परेको छ । सोही ग्रन्थको अर्को प्रसंगमा वैशालीका केही भिक्षु काठमाडौं घुम्न आएको विवरण पाइन्छ । काठमाडौं त्यति बेला नै एक समृद्ध व्यापारिक केन्द्र भइसकेको थियो । ग्रन्थले स्पष्ट नगरे पनि यहाँ पनि श्रीलंकामा जस्तै बौद्ध धर्म प्रवेश भइसकेको देखिन्छ ।

काठमाडौंको स्थानीय स्रोतले गौतम बुद्ध स्वयं काठमाडौं आएको भन्छ तर यो इतिहाससिद्ध कुरा होइन । अझ गौतम बुद्धभन्दा अघिदेखि नै यहाँ बौद्ध धर्मको गतिविधि भएको जनाउ दिन यो उपत्यका जलमग्न भई तलाउका रूपमा छँदा नै अतीत बुद्धहरूको आगमन भएको तथा मञ्जुश्री बोधिसत्वले आफ्नो खड्गले चोभार डाँडो काटी पानी निकास दिई यहाँ मानव बस्ती बसालेको आख्यान मात्रै हो, इतिहास होइन । बुद्ध र बौद्ध धर्मलाई आस्था र विश्वासको आधारमा नभएर ऐतिहासिक तथ्यहरूका आधारमा अध्ययन गर्नुपर्छ ।

इतिहासमा कलम चलाउने कतिपय लेखक मौर्य सम्राट् अशोकद्वारा नियुक्त धर्मदूतहरू काठमाडौं उपत्यकामा पनि पसेको र उनीहरूद्वारा नै धर्मको प्रचारप्रसार भएको उल्लेख गर्छन् । उक्त स्रोतमा काठमाडौंको उल्लेख पाइँदैन, हिमवन्त प्रदेश मात्रै उल्लेख पाइन्छ । ती धर्मदूतहरू काठमाडौं उपत्यकामा पसेकै भए पनि उनीहरूभन्दा अघि नै बौद्ध धर्म पुगिसकेको पाइयो । मौर्य सम्राट् स्वयं काठमाडौं उपत्यकामा आएको, आफ्नी छोरी चारुमतीको विवाह यहाँका राजकुमारसँग गराइदिएको विवरणमा पनि ऐतिहासिकता पाइँदैन । केही भारतीय प्रकाशनमा यो विवरण त पाइन्छ तर भारतको कुनै पनि ऐतिहासिक स्रोतबाट यसको पुष्टि हुँदैन । भारतले नेपालको स्रोत भनेर उल्लेख गर्ने हो तर नेपालमा पनि यसको पुष्टि हुँदैन ।

विश्व बौद्ध इतिहासहरू विशृंखल हुने गरे पनि काठमाडौं उपत्यकाको बौद्ध इतिहास शृंखलाबद्ध रहेको पाइनु यहाँको ऐतिहासिक विशेषता हो । बुद्धकालीन काठमाडौंको समाजमा बौद्ध विहारहरू अनिवार्य रूपमा बनिसक्नुपर्छ किनभने बौद्ध भिक्षुहरू गृहस्थको घरमा निवास गर्न मिल्दैन । त्यति बेला विहारहरू कति र कस्ता थिए भन्ने खुल्दैन । लिच्छविकालमा प्रशस्त मात्रामा विहारको निर्माण भएको पाइन्छ र ती विहारको नाम संस्कृत भाषाबाट रहेको पाइन्छ । गैरसंस्कृत भाषामा रहेको ‘गुँविहार’ लाई पहिलो विहारका रूपमा लिनु मनासिब हुँदैन तर यसलाई भेटिएको मध्ये पहिलोसम्म भन्न सकिन्छ । लिच्छविकालपछि मल्लकालमा पनि काठमाडौंमा बौद्ध धर्मको व्यापक मात्रामा विकास मात्रै भएन, बौद्ध केन्द्रकै रूपमा रह्यो ।

बौद्ध धर्मदर्शनको चर्चा गर्दा प्रायः के भन्ने गरेको पाइन्छ भने बुद्धको महापरिनिर्वाणको सय वर्षपछि भिक्षु संघमा विवाद सिर्जना भयो र स्थविरवाद तथा महासांघिक गरी दुई सम्प्रदाय छुटियो । कतिपयले यसलाई ठूलै घटनाका रूपमा लिएको पाइन्छ । तर बौद्ध दर्शनलाई सूक्ष्म र दार्शनिक धरातलमा अध्ययन गर्दा मूल बौद्ध दर्शनमा कहिल्यै पनि विचलन आएको देखिएन । बुद्ध सबैलाई एउटै पाराले उपदेश गर्दैनथे । व्यक्तिहरूको पृष्ठभूमि फरक पर्ने गरेजस्तै बुझ्ने क्षमता पनि फरक फरक हुने गर्छ । यो कुरालाई ध्यानमा राखेर बुद्ध अनेक उपाय कौशल प्रयोग गरी उपदेश गर्थे र सोहीअनुसार प्रचार पनि हुन्थ्यो ।

यसले गर्दा कतिपयका लागि आफूले बुझेको मात्रै सही र अरूले बुझेको गलत भन्ने धारणाको विकास हुन पुग्यो । अनेक सम्प्रदायको उदय हुनाका कारण यही हो । सर्वास्तिवाद सम्प्रदायको बीजारोपण बुद्धकै जीवनकालमा भइसकेको देखिन्छ र यसअनुसार स्थविरवाद र महासांघिक दुई निकाय फाट्नु करिब दुई सय वर्षपछिको घटना हो । फेरि बौद्ध दर्शनको व्याख्या प्रणालीहरूले पनि अनेकौं सम्प्रदाय देखा पर्न थाल्यो ।

बौद्ध धर्ममा आएका अनेकौं उतारचढावबाट काठमाडौं उपत्यका बेखबर थिएन । चातुर्विंशमहायानिक, स्वाभाविक, कार्मिक, यत्निक, ऐश्वरिक नामका बौद्ध सम्प्रदायहरूको उल्लेख काठमाडौं उपत्यकामा मात्र पाइएको छ । काठमाडौंस्थित स्वयम्भू महाचैत्य ‘आदिबुद्ध’ को अवधारणाअनुसार बनेको हो, जुन ऐश्वरिक सम्प्रदायको हुन सक्ने अनुमान छ ।

काठमाडौंमा प्रचलित बौद्ध धर्मको मौलिकता बेग्लै छ भन्नु यो ठाउँको महत्त्वलाई बढावा दिनु मात्रै होइन, मौजुदा तथ्यहरू प्रकाशमा ल्याउनु हो । यहाँका स्तूपको ‘हर्मिका’ लाई हेर्‍यो भने चारै दिशामा दुई आँखा, नाकको आकार र निधार भागमा उर्णा (बुद्धको निधारमा हुने घुँघुरिएको विशेष रौं) चित्रित हुन्छ । स्वयम्भू महाचैत्यलगायतका ‘हर्मिका’ मा हुने यो आकृति काठमाडौं उपत्यका वा नेपालको ‘ब्रान्ड’ हो । विश्व बौद्ध जगत्मा हजारौं शैलीमा स्तूपहरू हुन्छन् तर काठमाडौं उपत्यकामा यत्रतत्र व्यापक रूपमा निर्माण भएका चिभाः (स्तूपको एउटा भेद) काठमाडौंको अर्को मौलिक विशेषता वा ‘ब्रान्ड’ हो ।

काठमाडौं उपत्यकामा हजारभन्दा बढी संख्यामा बहाःबही भनिने विभिन्न नामका बौद्ध विहारहरू छन् । धार्मिक गतिविधिका लागि बहाः र शैक्षिक गतिविधिका लागि बही प्रयुक्त हुन्छन् । विहार बनाउँदा बस्तीबाट धेरै नजिक र धेरै टाढा नबनाउनु भन्ने बुद्धको वचनअनुसार नै यी बहाःबहीहरू बनेको पाइन्छ तर बस्ती विकासका क्रममा हिजोआज बस्तीभित्र पर्न गएको छ । यी बहाःबहीहरूको संरचना दुई हजार–पच्चीस सय वर्षअघिकै रहेको भारतका विभिन्न पुरातात्त्विक उत्खननबाट प्राप्त संरचनासँग तुलनात्मक अध्ययन गर्दा ज्ञात हुन्छ ।

काठमाडौंका यी विहारहरू फगत विहार मात्रै हुँदैनन्, यी संगठित बौद्ध समाजको जीवित उदाहरण पनि हो । कुनै पनि बौद्ध एक न एक विहारसँग सम्बद्ध हुन्छन् । आआफ्नो विहारको विकासमा लाग्ने क्रममा अत्यन्तै समृद्ध र कलात्मक विहार बनेको पाइन्छ । भारतका बौद्ध विद्वान्हरू तिब्बत जाँदा र तिब्बतका बौद्ध विद्वान्हरू भारत जाँदा विश्रामस्थलका रूपमा यिनै विहारहरू प्रयुक्त भएको पाइन्छ । उदाहरणका लागि प्रसिद्ध आचार्य अतिशा दीपंकर श्रीज्ञान तिब्बत जाँदा वर्तमान पर्यटकीय आकर्षण ठमेलको विक्रमश्री महाविहार (थँबही नामबाट नै ठमेल नाम रहेको) मा बसेका थिए ।

गौतम बुद्धको जीवनकालमै बौद्ध धर्म प्रवेश गरेको, बौद्ध धर्मको इतिहासले अटुट रूपमा निरन्तरता पाइरहेको र वर्तमानमा समेत बौद्ध केन्द्रका रूपमा प्रतिष्ठित भूगोल विश्वमा काठमाडौं उपत्यका एउटा मात्रै हो । यस हिसाबले विश्व बौद्ध समाजका लागि काठमाडौं उपत्यका विशिष्ट छ ।

– वसन्त महर्जन