05/01/2026, 20:59:35
शुक्रबार, बैशाख १८, २०८३

“सशस्त्र प्रहरी सज्जनलाई भर, अपराधीलाई डर”


काठमाडौँ, वैशाख १८ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतिकको रुपमा विकास गर्दै लैजानुपर्ने पनि बताएका छन् । ४ वर्षे पदावधिका कारण शनिबारदेखि अवकाशमा जान लागेका अर्यालले मुलुकको सीमा सुरक्षा र आन्तरिक सुरक्षाका लागि सशस्त्र प्रहरी भरपर्दो संगठन रहेको पनि बताए ।

अवकाशमा जान लागेका अर्यालको बिदाइमा शुक्रबार सशस्त्र प्रहरी मुख्यालयमा बिदाइ समारोह आयोजना गरिएको थियो । त्यस क्रममा अर्यालले आफ्नो कार्यकालमा देश र जनता तथा संगठनका लागि इमानदार भएर काम गरेको पनि बताए ।

महानिरीक्षक अर्यालले शुक्रबार नै नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई जिम्मेवारी हस्तान्तरण गरेका छन् । यससँगै अर्याल संगठनबाट निवृत्त भएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने गरी एआईजी पौडेललाई महानिरीक्षकमा बढुवा गरेको थियो । चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रवेश गरेका अर्यालले ४ वर्षे पदावधि पूरा गरी बिहीबारबाट अवकाश पाएका हुन् । १८ वैशाख २०७९ मा अर्याल महानिरीक्षक बनेका थिए । सशस्त्रमा महानिरीक्षकको ४ वर्षे पदावधि छ । त्यस्तै, ५८ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि पनि कायम छ । यसमध्ये जुन पक्ष पहिला आउँछ, त्यसकै आधारमा अवकाशमा जाने व्यवस्था छ ।

पौडेल हालका आईजीपी अर्यालसँगै सेवा प्रवेश गरेका अधिकृत हुन् । उनी सशस्त्र प्रहरीमा १३ औं महानिरीक्षकका रूपमा नेतृत्वमा पुगेका हुन् । पौडेलले महानिरीक्षकको दर्ज्यानी लगाएपनि औपचारिक रुपमा नेतृत्व सम्हाल्ने छन् ।

चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकबाट सेवा प्रवेश गरेका पौड्याल २०५७ माघमा सशस्त्र प्रहरी बल गठनसँगै एक तह बढुवासहित स्थानान्तरण भएका थिए । १८ असार २०५८ मा सशस्त्रको कामु डीएसपी भएका उनी सोही वर्षको १८ चैतमा डीएसपी बनेका थिए । २९ चैत २०६३ मा एसपी, २ जेठ २०७० मा एसएसपी, १३ कात्तिक २०७५ मा डीआईजी र ६ जेठ २०७९ मा एआईजी बनेका थिए ।

अर्यालले आफू नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धि तथा गौरव महसुस गरेको बताउँदै संगठनलाई परिवारको रुपमा लिई अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको समेत बताए ।