05/01/2026, 21:00:18
शुक्रबार, बैशाख १८, २०८३

तिलिचोमा आयोजित ‘महिला रेस्लिङ’ वर्ल्ड बुक अफ रेकर्ड्समा


काठमाडौँ, वैशाख १८ गते । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा मनाङको तिलिचो तालमा आयोजित महिला रेस्लिङ म्याच वर्ल्ड बुक अफ रेकर्ड्समा समावेश भएको छ ।

४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायस्ट अल्टिच्युड लेक’ तिलिचोमा भएको महिला रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरिएको फाउन्डेसनले जनाएको छ ।

गत २६ नोभेम्बरमा तिलिचोमा सम्पन्न रेस्लिङमा नेपालबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए । त्यसमा भगवती र अस्मिता विजयी भएका थिए ।

पूर्व उपसभामुख इन्दिरा राना मगरले भगवती र अस्मितालाई उक्त रेकर्ड्सको प्रमाण पत्र प्रदान गरिन् । महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा छन् ।

विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको फाउन्डेसनले यसअघि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले कालापत्थर मैत्रीपूर्ण रेस्लिङ आयोजना गरेको थियो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ३३ मिटरको उचाइमा उक्त रेस्लिङ भएको थियो ।

एभरेस्ट दिवसका अवसरमा भएको मैत्रीपूर्ण रेस्लिङमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् । त्यसमा अस्मिताले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

तिलिचोमा आयोजित रेस्लिङ वर्ल्ड बुक अफ रेकर्डसमा समावेश हुने नेपाली महिला रेस्लिङको विकाससँगै पर्यटकीय हिसाबमा मनाङको प्रचारमा उल्लेखनीय सहयोग पुग्ने अध्यक्ष खड्काले बताइन् ।