05/01/2026, 16:57:36
शुक्रबार, बैशाख १८, २०८३

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित


बेइजिङ, वैशाख १८ गते । अमेरिकी नियामक निकायको नयाँ प्रस्तावले प्रविधि व्यापारमा नयाँ तनाव निम्त्याउने सङ्केत देखिएपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ प्रयोगशालालाई अमेरिकी बजारका लागि इलेक्ट्रोनिक उपकरण परीक्षणबाट रोक्ने योजनाले द्विपक्षीय व्यापार सम्बन्धमा नकारात्मक प्रभाव पार्ने भन्दै बेइजिङले प्रतिकार गर्ने चेतावनी दिएको छ ।

अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी) ले बिहीबार अघि बढाएको प्रस्तावले स्वीकृति पाए स्मार्टफोनदेखि क्यामेरासम्मका विभिन्न उपकरण प्रभावित हुने छन् । एफसीसीका अनुसार हाल संयुक्त राज्य अमेरिकामा प्रयोग हुने करिब ७५ प्रतिशत प्रमाणित उपकरण चीनस्थित मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिन्छन्, जसले यो प्रस्तावको प्रभाव व्यापक हुन सक्ने देखाउँछ ।

यस निर्णयप्रति प्रतिक्रिया दिँदै चीनको वाणिज्य मन्त्रालयले यस्तो कदमले ‘अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार प्रणालीलाई गम्भीररूपमा कमजोर बनाउने’ चेतावनी दिएको छ । मन्त्रालयले यदि अमेरिका आफ्नो निर्णयमा अडिग रहे चीनले आफ्ना उद्यमको वैध अधिकार र हित जोगाउन आवश्यक कदम चाल्ने स्पष्ट सङ्केत दिएको छ ।

चीनले एफसीसीमाथि चिनियाँ कम्पनी र उत्पादनलाई लक्षित गर्दै बारम्बार प्रतिबन्धात्मक उपाय लागु गरेको आरोप पनि लगाएको छ । यस्ता कदमले दुई देशबिच कठिन प्रयासबाट कायम भएको व्यापारिक स्थिरता बिगार्ने र उच्चस्तरीय सहमति विपरीत जाने मन्त्रालयको दाबी छ । एफसीसीले भने आफ्नो प्रस्ताव ‘राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने’ उद्देश्यले ल्याइएको जनाएको छ ।

यसअघि नै एजेन्सीले विदेशी विरोधीको स्वामित्व वा नियन्त्रणमा रहेका परीक्षण प्रयोगशालालाई सीमित गर्ने नियम लागु गरिसकेको छ । नयाँ प्रस्तावले अमेरिकाको पारस्परिक मान्यता वा समान व्यापार सम्झौता नभएका देशमा रहेका प्रयोगशालाको मान्यता हटाउने लक्ष्य राखेको छ । एफसीसकीका अनुसार चीनसँग यस्तो कुनै सम्झौता छैन ।

प्रस्ताव पारित भएमा चिनियाँ प्रयोगशालामा परीक्षण तथा प्रमाणीकरण भएका उपकरणलाई दुई वर्षभित्र चरणबद्ध रूपमा अमेरिकी बजारबाट हटाइने छ । यो प्रस्तावले प्रविधि आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय व्यापार अभ्यास र अमेरिका-चीन सम्बन्धमा नयाँ तनाव थप्ने सङ्केत दिएको छ । विश्लेषकले यसलाई व्यापार मात्र नभई रणनीतिक प्रतिस्पर्धाको अर्को चरणका रूपमा पनि व्याख्या गरेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..