07/04/2026, 23:22:16
शनिबार, असार २०, २०८३

काठमाडौँ महानगरपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा

घरधुरी सर्वेक्षणबाट छुटेका बालबालिकालाई खोप प्रदान गरेपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र हस्तान्तरण

Photo Credit : काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office
©Photo Credit : काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office

काठमाडौँ, असार २० गते । काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गर्नुभयो ।

समारोहमा कार्यवाहक प्रमुख डङ्गोलले खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको बताउँदै बाल मृत्युदर र अपाङ्गता घटाउन खोप सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकालाई जोखिमबाट बचाउन सक्रिय स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

Photo Credit : काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office
Photo Credit : काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office

बाल मृत्युदर घटाउन र अपाङ्गता रोक्न खोप प्रभावकारी माध्यम हो । बालबालिकालाई जोखिमबाट बचाउन सक्रिय स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय छ ।” – सुनिता डङ्गोल, कार्यवाहक प्रमुख

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी.का अनुसार, २०८२ जेठ २८ गतेदेखि सुरु गरिएको ‘घरधुरी सर्वेक्षण‘ का क्रममा शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोप प्रदान गरेपछि यो सुनिश्चितता हासिल भएको हो । महानगरभित्र जन्मेदेखि ५ वर्षमुनिका ८९ हजार ५६ बालबालिका लक्षित समूहमा रहेका छन् ।

Photo Credit : काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office
Photo Credit : काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office

नेपालमा २०३४ सालदेखि विस्तारित खोप कार्यक्रम सुरु भएको हो र यसकै कारण मानव सभ्यतालाई पोलियो शून्य बनाउन र मानिसलाई अकाल मृत्युबाट जोगाउन सम्भव भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभयो । काठमाडौँलाई यसअघि पहिलो पटक २०७४ साल पुस महिनामा पूर्ण खोप घोषणा गरिएको थियो भने यसपटक खोपको दिगोपना कायम राख्न यो सुनिश्चितता घोषणा गरिएको हो ।