10/07/2026, 14:45:01
बुधबार, असोज २१, २०८३

दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट, राष्ट्र बैङ्कले सुकिला नोटमा जोड


काठमाडौँ, असोज २१ गते । नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैङ्कको निर्देशनपछि केही बैङ्क तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएममार्फत १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोट वितरणबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वका लागि राष्ट्र बैङ्क तथा वाणिज्य बैङ्कबाट सुकिला तथा सफा नोट सहज रूपमा प्राप्त गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार नोट सटही तथा वितरण नियमित काम भएकाले यसपटक दसैँ लक्षित नयाँ नोट वितरणको छुट्टै प्रचारप्रसार नगर्ने नीति लिइएको हो।

“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो। यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,” उहाँले भन्नुभयो, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैङ्कले दसैँ मनाउन भनी सूचना जारी गर्न उपयुक्त देखिएन। हामीले यो ढङ्गले गर्न लागेका हौँ।”

असोज १ देखि सुकिला नोट वितरण

प्रवक्ता पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैङ्कको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट वितरण भइरहेको छ।

राष्ट्र बैङ्कले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्व लक्षित नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने प्रयास गरिरहेको जनाएको छ।

यसको उद्देश्य नयाँ नोटको माग र प्रयोग कम गर्दै बजारमा चलनचल्तीमा रहेका सुकिला तथा सफा नोटको प्रयोग बढाउनु रहेको राष्ट्र बैङ्कले जनाएको छ।

दसैँमा करिब ८–१० प्रतिशतले बढ्ने अनुमान

राष्ट्र बैङ्कका अनुसार गत भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको करेन्सी इन सर्कुलेसन रहेको छ।

दसैँका बेला नगद कारोबार बढ्ने भएकाले उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुनसक्ने अनुमान गरिएको प्रवक्ता पौडेलले बताउनुभयो।

राष्ट्र बैङ्कले चाडपर्वका बेला आवश्यक पर्ने नगद व्यवस्थापनका लागि पर्याप्त तयारी गरिएको जनाएको छ।