10/07/2026, 11:41:01
बुधबार, असोज २१, २०८३

मौसम : धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा


काठमाडौँ, असोज २१ गते । पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि सामान्यतया बादल रहने तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।

राति हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

त्यसैगरी, मधेश प्रदेश तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ। वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।