07/04/2026, 22:15:37
शनिबार, असार २०, २०८३

अत्यधिक गर्मीका कारण ‘ग्रेट अमेरिकन स्टेट फेयर’ स्थगित


वाशिङ्गटन डीसी, असार २० गते । अमेरिकी राष्ट्रिय मलमा आयोजित ग्रेट अमेरिकन स्टेट फेयर स्थानीय समय अनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको जानकारी गराइएको छ । अमेरिकी राजधानीमा अत्यधिक गर्मी छाएको छ, जहाँ तापक्रम १०२ डिग्री फरेनहाइटसम्म पुगेको छ र ताप सूचकाङ्क ११० डिग्री फरेनहाइटभन्दा माथि पुगेको छ ।

अभियानको आयोजक फ्रिडम-२५० ले एक्समा पोस्ट गर्दै भनेको छ, “चर्को गर्मी मौसमको अवस्थाका कारण महोत्सव पाँच बजेसम्म बन्द रहने छ ।” फ्रिडम-२५० ले साँझको कार्यक्रमको तयारी जारी राख्दै भनेको छ, “गर्मीका कारण र सार्वजनिक सुरक्षा अधिकारीसँगको समन्वयमा, ग्रेट अमेरिकन स्टेट फेयर आज ५:०० बजेसम्म अस्थायीरूपमा बन्द गरिने छ । हाम्रा अतिथि, स्वयंसेवक, कलाकार, विक्रेता र स्टाफको सुरक्षा र कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो । दिउँसो पछितिर अवस्था सुधारिने अपेक्षा गरिएको छ र हामी ५ः०० बजेदेखि सबैलाई फेरि स्वागत गर्न उत्सुक छौँ ।

अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको उत्सव अत्यधिक मौसमी अवस्थाले प्रभावित भएको छ । विभिन्न शहरका आयोजकले तीव्र गर्मीको लहरका बिच कार्यक्रम तालिका समायोजन गर्नु परेको छ । फिलाडेल्फियामा शुक्रबारका लागि तय गरिएको परेड अत्यधिक तापक्रमका कारण सुरु हुन केही घण्टा अगाडि नै रद्द गरिएको थियो । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वतन्त्रता दिवसको पूर्वसन्ध्याको उत्सव माउन्ट रशमोरमा सम्बोधन गर्ने कार्यक्रमस्थल साउथ डाकोटा पुग्नुभएको छ ।

मौसम रिपोर्ट अनुसार, पूर्वी अमेरिकाको केही भागमा गर्मीको लहर कायम रहने अपेक्षा गरिएको छ । वाशिङ्गटन डीसीमा १०२ डिग्री फरेनहाइट (३८ डिग्री सेल्सियस) सम्म तापक्रम पुग्ने अनुमान छ, जसले यसलाई शहरको इतिहासमा जुलाई ४ को सबैभन्दा गर्मी दिन मध्ये एक बनाउन सक्छ । फिलाडेल्फिया र न्यूयोर्क शहरमा पनि तापक्रम १०० डिग्री फरेनहाइट नजिक पुग्ने र ताप सूचकाङ्क १०५ आसपास रहने सीएनएनको मौसम रिपोर्टमा उल्लेख छ ।

क्यापिटल हिलमा हुने भनिएको ‘युएस क्यापिटल फोर्थ कन्सर्ट’ भने निर्धारित समयमै हुने छ । युएस क्यापिटल प्रहरीले अवस्था जस्तो सुकै भए पनि कार्यक्रम स्थल ७ बजेदेखि खोलिने बताएको छ । यो हप्ता देखिएको गर्मी र आद्र्रताको तीव्रता जीवाश्म ईन्धन प्रदूषणको प्रभाव बिना ‘लगभग असम्भव’ हुने थियो, अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान संस्था ‘पिट्रिब्युसन’को विश्लेषणलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट गरेको छ ।

राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई ‘वाइहात बहाना’ भन्दै आफ्नो पूर्व अडान कायम राख्नुभएको छ । उहाँले जलवायु परिवर्तन, दास प्रथा र अन्य विषयमा रहेका सूचना हटाएर अमेरिकी इतिहासमा ‘सत्य र विवेक’ पुन: स्थापित गर्न चाहेको बताउनुभएको युरोन्युजले लेखेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..