07/04/2026, 23:22:26
शनिबार, असार २०, २०८३

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा चार लेन कालोपत्र सम्पन्न, भौतिक प्रगति ७३ प्रतिशत


तनहुँ, असार २० गते । पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड (३९ किलोमिटर) मा चार लेन सडकको कालोपत्र गर्ने कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । मुख्य सडकको कालोपत्र सकिएसँगै कास्कीको विजयपुर क्षेत्रमा पनि चार लेन सडक सञ्चालनमा आएको छ ।

आयोजनाका अनुसार मुख्य सडक सञ्चालनमा आएसँगै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन सहज भएको छ भने यसअघिको धुलो, हिलो र ट्राफिक जामको समस्या उल्लेख्य रूपमा हटेको छ । हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ७३.५१ प्रतिशत र वित्तीय प्रगति ६५.७६ प्रतिशत पुगेको छ ।

चीनको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले सात अर्ब ४० करोड रुपियाँमा निर्माणको जिम्मा लिएको यस खण्डका १२ वटै पुलको काम यसअघि नै सकिइसकेको छ । मुख्य सडकको काम सकिएपछि अब आयोजनाले बजार र बाक्लो बस्ती भएका क्षेत्रमा सर्भिस लेन, पैदलमार्ग, नाली, सडक बत्ती र रेलिङ निर्माणलाई तीव्रता दिने जनाएको छ ।

राष्ट्रिय गौरवको यस आयोजनाको विस्तार कार्य पूर्ण रूपमा सम्पन्न भएपछि राजधानी काठमाडौँ र पर्यटकीय राजधानी पोखराबिचको यात्रा थप सुरक्षित, सहज र छिटो हुने अपेक्षा गरिएको छ ।