

फलेवास (पर्वत), जेठ २८ गते । बिहानको घामसँगै मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा सवारी साधनको चाप बढ्न थाल्छ । फराकिलो र चिल्लो सडकमा तीव्र गतिमा हुइँकिएका सवारी साधन क्षणभरमै आँखाबाट ओझेल पर्छन् । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा तैनाथ भए पनि तीव्र गतिमा गुडिरहेका सवारीको गति मापन गर्ने उपकरण उनीहरूसँग छैन । न स्पिड गन छ, न अन्य आधुनिक प्रविधि । सडक किनारमा उभिएका प्रहरीका लागि चालकको गति अनुमान गर्ने आधार आँखाबाहेक अर्को केही छैन ।
परिणामस्वरूप, राजमार्गमा बढ्दो सवारी चाप र तीव्र गतिबिच दुर्घटना नियन्त्रणको जिम्मेवारी अझै पनि परम्परागत कागजात जाँचमै सीमित देखिएको छ ।
पर्वतमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी सवारी साधन मध्यपहाडी लोकमार्ग हुँदै आवतजावत गर्ने गरेका छन् । फराकिलो सडकका कारण सवारीको गति बढ्ने गरेको छ । तर आवश्यक प्रविधि र उपकरणको अभावमा ट्राफिक प्रहरीले प्रभावकारी रूपमा गति नियन्त्रण तथा सवारी चेकजाँच गर्न कठिनाइ भोग्नुपरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक बलबहादुर गुरुङले सवारी चेकजाँचका लागि आवश्यक उपकरणको अभावले ट्राफिक व्यवस्थापन प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार कार्यालयसँग स्पिड नाप्ने ‘लिडर गन’, मापसे परीक्षण गर्ने उपकरण, बेरीकेड, रोड फर्निचर तथा कन्भेक्स मिरर लगायतका आवश्यक सामग्री छैनन् । “साधनको अभावका कारण सवारी चेकिङ र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न कठिन भइरहेको छ,” गुरुङले भन्नुभयो ।
उहाँका अनुसार ट्राफिक व्यवस्थापनमा आवश्यक प्रविधि र उपकरण नहुँदा नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि प्रभावकारी निगरानी गर्न कठिन भइरहेको छ । विशेषगरी राजमार्ग तथा ग्रामीण सडकमा तीव्र गतिमा गुड्ने सवारीको गति मापन गर्न नसक्दा दुर्घटना नियन्त्रणमा चुनौती थपिएको छ ।
त्यस्तै, मापसे परीक्षण गर्ने उपकरणको अभावमा चालकले मदिरा सेवन गरेर सवारी चलाएको आशङ्का भए पनि तत्काल परीक्षण गर्न समस्या हुने गरेको छ । सडकमा सवारी रोक्न तथा व्यवस्थित चेकिङ सञ्चालन गर्न आवश्यक बेरीकेड र अन्य सुरक्षा सामग्री नहुँदा ट्राफिक प्रहरीको काम थप कठिन बनेको छ ।


भौगोलिक रूपमा सडक सञ्जाल विस्तार हुँदै गए पनि ट्राफिक व्यवस्थापनका लागि आवश्यक साधनस्रोतको व्यवस्था हुन नसक्दा दुर्घटना न्यूनीकरण, नियम कार्यान्वयन तथा सडक सुरक्षामा अपेक्षित प्रभावकारिता हासिल गर्न नसकिएको प्रहरीको भनाइ छ ।
साधनस्रोतको अभावसँगै व्यवस्थित कार्यालय भवन नहुँदा कर्मचारीको बसोवास र कार्यसम्पादनमा समेत समस्या भइरहेको छ । नाम नखुलाउने सर्तमा एक ट्राफिक प्रहरीले भन्नुभयो, “ट्राफिक प्रहरी समस्या नै समस्याको भुमरीमा छ । व्यवस्थित भवन नहुँदा खाना खान र सुत्नसमेत अप्ठ्यारो छ । सबै प्रहरी एउटै कोठामा बस्न र सुत्न बाध्य छौँ ।” उहाँका अनुसार न्यून भौतिक पूर्वाधारका बिच सेवा प्रवाह गर्नुपर्दा दैनिक कार्यसम्पादनसमेत प्रभावित हुने गरेको छ ।
जिल्लामा चालु आर्थिक वर्षमा १८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । प्रविधि, साधनस्रोत र जनशक्तिको अभावका बाबजुद ट्राफिक प्रहरीले सडक सुरक्षा सचेतना तथा निगरानी अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार ७७ सवारी साधनलाई कारबाही गरी ६६ लाख रुपियाँ राजस्व सङ्कलन गरिएको छ । यद्यपि, राजस्व सङ्कलन गत वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षमा एक करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो ।
– साजन परियार
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































