बागलुङ, जेठ २६ गते । बिहानको समयमा साग लगायतका तरकारी बेचेर घरखर्च चलाउने किसानलाई नगरपालिकाले करमा छुट दिएर प्रोत्साहन गर्दै आएको छ ।
साग लगायत तत्काल बिग्रने तरकारी बाहेक अन्य तरकारी भने बिहान १० बजेसम्म र बेलुकी ५ बजेपछि डोकोमा राखेर बिक्री गर्न पाइन्छ । फलफूलका लागि दिउँसोको समयमा तोकेको स्थानमा बसेर बेच्न पाइने व्यवस्था नगरपालिकाले गरेको छ ।
बजार अनुगमन गरी करयोग्य सामान बिक्रीको लगत राख्ने, बजारमा डुलाएर बेच्न नपाइने, अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । ‘‘मौषमी कृषि फसल बेच्नेहरूको रोजीरोटी चल्नेगरी छुट दिए पनि अन्यलाई करको दायरामा ल्याएका छौं’’ बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो, ‘‘उद्योग वाणिज्य सङ्घको सहकार्यमा करयोग्य सामग्रीको व्यवसायलाई व्यवस्थित बनाएका छौं ।’
पछिल्लो समय बागलुङलाई ताजा तरकारीमा आत्मनिर्भर बनाउन सकिने गरी लगानी बढाउने, बजारीकरणमा नगरपालिकाले साथ दिने र उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्ने काम सुरु भएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
डोकोमा तरकारी र फलफूल ल्याउने किसानलाई बेच्न प्रोत्साहन दिएको नगरपालिकाका बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताउनुभयो । ‘‘हामीले ठेला गाडामा बेच्दै हिँड्ने, जथाभाबी सडक अवरुद्व पारेर व्यापार गर्ने र धुलोमा चटपट बेच्ने कामलाई रोक लगाएका छौं’’ घिमिरेले भन्नुभयो । यो कामले बजार सफा र ट्राफिक व्यवस्थापन चुस्त बनेको घिमिरेले बताउनुभयो ।


डोकोमा साग, गोलभेडा र हरियो तरकारी बिक्री गरेर घरखर्च चलाउन सहज भएको बागलुङ नगरपालिका–४ की रिमा बुढाथोकीले बताउनुभयो । १२ रोपनी जमिन भाडामा लिएर ताजा तरकारी र च्याउ खेती गरेर बुढाथोकीले नजिकको बजारमा बिक्री गरेर छोराछोरी पढाउनुका साथै घरखर्च चलाउँदै आउनुभएको छ ।
प्रशासकीय अधिकृत भीमसेन पन्तका अनुसार सुन्तलाको समयमा ट्राफिक चोक, समीक्षालय, धौलागिरि बहुमुखी क्याम्पस आसपास क्षेत्र लगायतमा डोकोमा सुन्तला बेच्न छुट दिइएको छ । ‘‘साना किसानलाई करमा छुट दिएका छौं, धेरै उत्पादन गरेर बेच्न चाहने किसानले भने पसलमा राख्नुपर्ने छ’’ पन्तले भन्नुभयो ।
राजस्व शाखाका प्रमुख सरस्वतीदेवी रेग्मीका अनुसार खुला रूपमा ठेलागाडामा सामान बेच्ने ५० बढीले दर्ता गरेर पसल राख्न थालेका छन् । उनीहरूले नियमित कर तिर्न थालेको रेग्मीले बताउनुभयो । नगर प्रहरी र राजस्व शाखाले नियमित अनुगमन गर्दा जथाभाबी व्यवसाय गर्नेहरू हटेको पाइएको रेग्मीको बताउनुभयो ।
चालु आर्थिक वर्षमा घरबहाल कर, व्यवसाय कर लगायतबाट ५ करोड ७० लाख राजस्व सङ्कलन भएको छ । बागलुङ बजारमा कुँडुले, तित्याङ, पावरहाउस र मूलपानी, रायडाँडा लगायत स्थानबाट तरकारी आउने गरेको छ ।
– रामकृष्ण बोहरा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































