07/04/2026, 08:27:37
शनिबार, असार २०, २०८३
फिफा विश्वकप फुटबल २०२६

फिफा विश्वकप फुटबल : स्पेन र स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा


लस एन्जल्स, असार २० गते । मिकेल ओयरजाबालको दुई र पेड्रो पोरोले एक गोल गरेपछि स्पेन अस्ट्रियालाई ३–० ले सहजै हराएर विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। यस जितसँगै युरोपेली च्याम्पियन स्पेनको अपराजित यात्रा ३५ खेल पुगेको छ।

खेलको ३६ औँ मिनेटमा मार्क कुकुरेलाको क्रसमा ओयरजाबलले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। ६६ औँ मिनेटमा आलेक्स बाएनाको क्रसमा पेड्रोले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारे। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा कुकुरेलाकै पासमा ओयरजाबलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को सहज जित दिलाए।

यसै गरी भानकुभरमा भएको अर्को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। स्विट्जरल्यान्डले सन् १९३८ पछि पहिलो पटक विश्वकपको नकआउट खेल जितेर इतिहास रचेको हो।

स्विट्जरल्यान्डका लागि खेलको १० औँ मिनेटमा ब्रिल इम्बोलोले पहिलो गोल गरे भने मध्यान्तरलगत्तै डान एन्डोएले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। अब स्विट्जरल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बिया वा घानामध्ये एकको सामना गर्नेछ।