तनहुँ, जेठ २७ गते । आधुनिकताको बढ्दो लहरसँगै वास्तुकलाको अनुपम नमुना मानिने तनहुँको परम्परागत रैथाने ‘घुमाउने घर’ लोप हुन थालेका छन् । दरै बस्तीमा सामाजिक पहिचानका रूपमा देखिने यी मौलिक घर अचेल फाट्टफुट्ट मात्र देखिनुले पुस्तौँ पुरानो रैथाने प्रविधि र रैथाने सभ्यता इतिहासको पानामा मात्र सीमित हुने खतरा बढेको हो । गाउँ गाउँमा सडक सञ्जालको विस्तारसँगै आधुनिक इँटा र जस्तापाताको व्यापकताले मौलिक पहिचान ओझेलमा पर्दै गएको छ ।
व्यास नगर प्रज्ञा–प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतका अनुसार घुमाउने घर केवल बस्ने थलो मात्र नभएर उत्कृष्ट प्राकृतिक इन्जिनियरिङको नमुना हो । पूर्व र पश्चिम धुरी हुने भएकाले यसमा सूर्यको प्रकाश उदाउँदादेखि अस्ताउँदासम्म परिरहने विशिष्ट संरचना हुन्छ, जुन स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ । रातो माटोले लिपपोत गरिएको र खरले छाइएका यी घर प्राकृतिक एयर कन्डिसनर जस्तै हुन्, जसले जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्दछन् । यस्तो वैज्ञानिक संरचनाको विशेषता बुझ्न केही समयअघि अमेरिकी नागरिकसमेत भादगाउँ आइपुगेका थिए तर विडम्बना, नयाँ पुस्ताले यसको महत्व बुझ्न नसक्दा हिजोका ती सबै सांस्कृतिक धरोहर अहिले भत्काइएका छन् ।


पछिल्लो समय युवापुस्ताको आधुनिक जीवनशैलीप्रतिको मोह र घर छाउने खरको तीव्र अभावले यसको संरक्षणमा थप चुनौती थपेको आदिवासी जनजाति महासङ्घ तनहुँका पूर्वअध्यक्ष बसुन्धरा घर्ती बताउनुहुन्छ । रैथाने इतिहास बोकेका यी घर संरक्षण गर्न हाल व्यास–१०, दुम्सी बन्दीपुरको धरमपानी र आँबुखैरेनीको हिलीखर्कमा नमुनाका रूपमा मात्रै जोगाइएको छ । भावी पुस्तालाई पूर्वजको यो अनुपम प्रविधिबारे जानकारी दिनकै लागि व्यास–१० मा घुमाउने घरसहितको ‘दरै सङ्ग्रहालय’ निर्माण गरिएको निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।


यतिबेला चौतर्फी रूपमा मौलिकता मासिँदै जाँदा व्यास–१०, बैरेनीका भेषबहादुर दरै भने आफ्नो ६० वर्ष पुरानो पुख्र्यौली घर बचाउन लागिपर्न‘भएको छ । वैदेशिक रोजगारीको आधुनिक चमकदमक भोगेका भेषबहादुरले स्वदेश फर्किएपछि आधुनिक महल बनाउनुभन्दा पुख्र्यौली घरमै बस्ने निधो गर्न‘भयो । उहाँ भन्नुहुन्छ, “विदेशका सुविधासम्पन्न महलभन्दा मलाई यही जलवायुमैत्री रैथाने घरमा बस्दा आनन्द र शान्ति मिल्छ ।” यस्ता घर छाउने दक्ष सिपालु कर्मी र खरको चरम अभावले गर्दा आगामी दिनमा पुख्र्यौली सम्पदाको यो जग जोगाइराख्न दिनानुदिन सकस हुँदै गएको पनि उहाँले बताउनुभयो ।


स्थानीय सरकारले रैथाने सिप संरक्षणका लागि ठोस नीति र प्रोत्साहनका कार्यक्रम नल्याउने हो भने घुमाउने घरहरू आगामी दिनमा तस्बिर र सङ्ग्रहालयमा मात्र सीमित हुने निश्चित छ । घुमाउने घर बढी मात्रामा दरै जातिमा बढी बनाइने र कुमाल, मगर लगायतका जातिले पनि निर्माण गर्ने गरेका छन् ।
– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























