07/04/2026, 23:22:17
शनिबार, असार २०, २०८३

कैलाश मानसरोवर दर्शन गर्न जाने पर्यटक बढे


हुम्ला, असार २० गते । सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लाप्चा क्षेत्रबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । दुई दिनमै लाप्चा पुगेर सदरमुकाम सिमकोट फर्किन सकिने भएपछि विशेषगरी कर्मचारीहरू र आन्तरिक पर्यटकको चाप बढेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

गत जेठ अन्तिमदेखि खुला गरिएको यस क्षेत्रमा शनिबार सिमकोटबाट आठ-दश वटा बोलेरो जिप पर्यटक बोकेर लाप्चातर्फ प्रस्थान गर्ने गरेका छन् । दुई दिने बिदा घुमफिर र मनोरञ्जनका लागि सहज माध्यम बनेको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल हिमाल रोकायाले बताउनुभयो । हालसम्म लाप्चा पुग्ने पर्यटकको आधिकारिक तथ्याङ्क राखिएको छैन ।

लाप्चा यात्राको पहिलो दिन टाक्ची वा तुम्लिङमा होटलमा बास बस्न सकिने र दोस्रो दिन बिहान साढे दुई घण्टाको यात्रा गरी मानसरोवर–कैलाशको दर्शन गरेर सोही दिन सिमकोट फर्किन सकिन्छ । अहिले होटलहरू उपलब्ध भएकाले पहिले जस्तो चौरी गोठमा बस्नुपर्ने बाध्यता हटेको छ । लाप्चा पुग्नेहरूमा काठमाडौँ, पोखरा, चितवन, विराटनगरका आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकहरू समेत रहेका छन् ।