06/08/2026, 17:46:51
सोमबार, जेठ २५, २०८३

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नचढाउने बस कारबाहीमा


कास्की, जेठ २५ गते । बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक बसमा नचढाएको घटनामा संलग्न बसलाई कारबाही गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३२, लेखनाथका एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी अघि बढेको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो।

घटनाप्रति गम्भिर चासो व्यक्त गर्दै प्रहरीले आवश्यक खोजतलास तथा कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पत्राचार गरेको जनाएको छ। अनुसन्धानका क्रममा ग. २ ख. २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई ट्राफिक नियम अनुसार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

साथै, चालक तथा सम्बन्धित पक्षलाई आगामी दिनमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीप्रति संवेदनशील भई प्राथमिकता दिनुपर्ने विषयमा सम्झाइ-बुझाइ गरिएको प्रहरीले जनाएको छ।

– सन्तोष सुवेदी