07/05/2026, 20:00:32
आइतबार, असार २१, २०८३

भारी वर्षा र बाढीका कारण बीपी राजमार्ग ठप्प, डाइभर्सन सडक बगायो

रोसी खोलामा आउन सक्ने बाढीका कारण यात्रुहरू जोखिममा पर्ने भएकाले सुरक्षाका लागि यातायात रोकिएको प्रहरीको भनाइ छ ।


बनेपा, असार २१ गते । भारी वर्षाका कारण काभ्रेको बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रको माथिल्लो भागमा परेको वर्षासँगै दाप्चा खोला र रोसी खोलामा आएको बाढीले चौकीडाँडा र कटुञ्जेमा निर्माण गरिएको डाइभर्सन सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षाका लागि सवारी आवागमन बन्द गरिएको हो । राजमार्ग अवरुद्ध भएपछि गाडीहरूलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी र मङ्गलटारमा रोकिएको छ । गत असोजको विनाशकारी बाढीपछि यस राजमार्गमा हाल पुनर्निर्माणको काम भइरहेको छ ।