05/01/2026, 17:52:55
शुक्रबार, बैशाख १८, २०८३

खामेनेई स्वस्थ रहेको दाबी


तेहरान, वैशाख १८ गते । इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशङ्काबिच उहाँको कार्यालयका एक वरिष्ठ सहयोगीले उहाँ पूर्णरूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेका छन् । अमेरिकी दाबी र बाह्य अड्कलबाजीलाई खारेज गर्दै इरानी पक्षले यस्तो सूचना ‘मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास’ भएको जनाएको छ ।

सर्वोच्च नेताको कार्यालयसँग सम्बद्ध तथा विशेषज्ञ सभाका सदस्य उप अयातुल्ला मोहसेन कोमीले खामेनेईको स्वास्थ्यबारे उठाइएका प्रश्नलाई पश्चिमी रणनीतिको हिस्सा भएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार नेताको सार्वजनिक उपस्थिति नदेखिएको विषयलाई आधार बनाएर शत्रुपक्षले भ्रम फैलाउने प्रयास गरिरहेको छ ।

कोमीले भन्नुभयो, “केहीले नेताको स्वास्थ्यबारे जिज्ञासा राखिरहेका छन्, तर यस्तो प्रश्न उठाउनु नै शत्रुको योजना हो । उहाँ किन देखिनुहुन्न्, किन सन्देश आउँदैन भन्ने विषय उठाएर प्रतिक्रिया उक्साउने प्रयास भइरहेको छ ।” उहाँले यस्ता गतिविधिको उद्देश्य आन्तरिक र बाह्य रूपमा भ्रम सिर्जना गर्नु रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार हाल इरानी नेतृत्वको मुख्य प्राथमिकता सर्वोच्च नेताको सुरक्षा सुनिश्चित गर्नु हो । केही चोटपटक लागे पनि खामेनेई सुरक्षित रहेको र अवस्था नियन्त्रणमा रहेको उहाँको भनाइ छ । “उहाँ घाइते हुनुभएको थियो, तर अहिले पूर्णरूपमा स्वस्थ हुनुहुन्छ र सक्रियरूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ”, कोमीले भन्नुभयो ।

कोमीले बम आक्रमण भएको भवनमा खामेनेई उपस्थित रहेको पुष्टि गर्दै संयोगवश ठूलो क्षतिबाट जोगिएको उल्लेख गर्नुभयो । विस्फोट हुनुभन्दा केही मिनेट अघि उहाँले स्थान परिवर्तन गरेका कारण ज्यान जोगिएको दाबी गरिएको छ । उक्त घटनामा अन्य व्यक्तिको मृत्यु भएको पनि जनाइएको छ । हाल खामेनेईले वार्ता, क्षेत्रीय गतिविधि र रणनीतिक निर्णय प्रत्यक्षरूपमा निगरानी गरिरहेको कोमीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्वोच्च नेताले वार्ताकार टोलीलाई विभिन्न परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे स्पष्ट निर्देशनसमेत दिइसक्नुभएको छ । यसअघि भारतस्थित इरानी प्रतिनिधि मोहम्मद हुसेन जियेनियाले पनि खामेनेईको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनुभएको थियो । उहाँले हालैको संवादका आधारमा नेता सामान्य अवस्थामा रहेको बताउनुभयो ।

यद्यपि, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने फरक सन्दर्भ प्रस्तुत गरेका छन् । फेब्रुअरी २८ मा पूर्व सर्वोच्च नेता अली खामेनेईको परिसरमा भएको हवाई आक्रमणपछि मोजताबा खामेनेई सार्वजनिक रूपमा कम देखिएको उल्लेख गरिएको छ । उक्त आक्रमणमा उहाँका परिवारका सदस्यसमेत मारिएको रिपोर्ट गरिएको थियो ।

त्यसपछि उहाँको पहुँच सीमित गरिएको र उपचार प्रक्रियामा रहेको खबर बाहिरिएका थिए । सीमित व्यक्ति-विशेष गरी चिकित्सक-मात्र उहाँको सम्पर्कमा रहेको बताइएको थियो । यद्यपि इरानी अधिकारीले पछिल्ला सबै अड्कलबाजीलाई अस्वीकार गर्दै नेता पूर्णरूपमा सक्रिय रहेको दाबी दोहोर्याएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..