भ्रातृणां कलहो नित्यं कुलनाशाय कल्पते ।
दाजुभाइबिचको झगडा सधैँ कुल (परिवार) को नाशको कारण बन्छ अर्थात् आफ्नो नाताभित्र हुने विवादले बाहिरी शत्रुबाट हुनेभन्दा पनि ठुलो क्षति पु¥याउँछ ।
संस्कृतको यो नीतिवचन यतिबेला नेपालको राजनीति र त्यसमा पनि नेपाली कांग्रेसमा विकसित पछिल्लो परिस्थितिसँग मिल्दोजुल्दो छ । हुन पनि जब जब कांग्रेस पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यसले पार्टीको छवि कमजोर बनाउँदै लैजान्छ । पार्टीभित्र एकता र सहकार्यको भावना कमजोर हुँदा स्वाभाविक रूपमा उसका प्रति नागरिकको विश्वास कमजोर हुँदै जान्छ । त्यसबाट अन्ततः विपक्षी शक्तिले फाइदा उठाउँछन् ।
उदाहरणका लागि २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएको पहिलो संसदीय निर्वाचनको परिणाम हेरौँ । २०४८ सालको आमनिर्वाचनमा बहुमतको सरकार बनाउने सामथ्र्य राखेको कांग्रेसभित्रको आन्तरिक विवादका कारण २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा भयो । अघिल्लो निर्वाचनमा बहुमत पाउन सफल भएको कांग्रेस मध्यावधि निर्वाचनमा पछाडि धकेलिन बाध्य भयो ।
२०५६ सालको निर्वाचनमा पुनः बहुमत पाएको कांग्रेसभित्र झगडा यतिसारो बढेर गयो कि अन्ततः २०५९ सालमा पार्टी नै विभाजन हुन पुग्यो । कांग्रेस विभाजनको त्यही फाइदा उठाउँदै २०६१ माघ १९ मा तत्कालीन राजाले शाही घोषणामार्फत शासनसत्ता आफ्नो हातमा लिए । अन्ततः लामो सङ्घर्षपछि गुमेको प्रजातान्त्रिक हक अधिकार फिर्ता भयो । विभाजित दुई कांग्रेसबिच एकीकरण पनि भयो ।
विसं २०७९ को निर्वाचनमा संसद्को सबैभन्दा ठुलो दल बन्न सफल भएको कांग्रेस पार्टीलाई फागुन २१ गते सम्पन्न निर्वाचन परिणामले नराम्रो धक्का लगाइदिएको छ । कांग्रेसले सरकारको नेतृत्व समाल्दाका क्रममा भएगरेका कमीकमजोरी र त्यसबाट आजित भएका मतदाताले नयाँ शक्तिका प्रति गरेको विश्वास देखिए पनि पराजयको प्रमुख कारण आन्तरिक विवाद नै हो । आन्तरिक विवाद नभएको भए सायद कांग्रेसले यो हदको हार बेहोर्नुपर्ने थिएन ।
निर्वाचनमा बेहोर्नु परेको यो हदको पराजयले संसद्मा कांग्रेसको आकार निकै खुम्चिन पुगेको छ । आफ्नो साइज खुम्चिँदासमेत शीर्ष नेतृत्वमा दम्भ घटेको छैन । पुस अन्तिम साता राजधानीको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएको विषयलाई निर्वाचन आयोगले मान्यता दियो । त्यसका विरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा वैशाख पहिलो साता खारेज गरेर सर्वोच्चले थापालाई मान्यता दिइसकेको छ ।
यसबिचमा न सभापति थापाले पार्टीको पुरानो र शीर्ष नेतृत्वका बिच पुगेर अहिलेको अवस्थामा आन्तरिक मतभेद छाडेर सिङ्गो पार्टी एकताका पक्षमा लागौँ भनेर आह्वान गर्न सक्नुभएको छ न त पुरानो नेतृत्वले विगतका तितामिठा बिर्सेर बृहत्तर पार्टी एकतामा लागौँ भनेर भन्न सकेको छ । यद्यपि गगन र पूर्णबहादुर खड्काबिच भेटवार्ता भएका समाचार भने आएका थिए ।
प्रत्यक्ष र समानुपातिक गरी ३८ सिटमा चित्त बुझाउन बाध्य भएको कांग्रेसले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन । शुक्रबारका लागि तोकिएको निर्वाचन स्थगित गरी उसले सहमतिको प्रयास गरी सर्वसम्मत ढङ्गबाट संसदीय दलको नेता चयन गर्ने जनाएको छ । संसद्मा आफ्नो आकार खुम्चिएको सन्दर्भ भुलेर कांग्रेसभित्र नेता चयनको हानाथाप सुरु भएको देख्दा लाग्छ, कांग्रेसका नेतामा अझै चेत खुलेको छैन ।
नीतिगत अस्पष्टता
कांग्रेस देशको पुरानो र प्रमुख लोकतान्त्रिक शक्ति हो । राणा शासन, पञ्चायती व्यवस्था र तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनका विरुद्ध कहीँकतै कुनै किसिमको सम्झौता नगरी लोकतान्त्रिक शासनव्यवस्थाको स्थापना र सुदृढीकरणमा कांग्रेसले नै ऐतिहासिक भूमिका खेल्दै आएको छ । लोकतन्त्रको मुख्य सौन्दर्य भनेकै पारदर्शिता हो । आन्तरिक सहमतिका आधारमा हुने संस्थागत निर्णय प्रक्रियाले लोकतान्त्रिक पद्धतिलाई थप उन्नत बनाउँछ । त्यसका लागि पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो हुनु पर्छ ।
कुनै दलभित्र आन्तरिक लोकतन्त्र कमजोर हुन्छ भने त्यसको प्रत्यक्ष प्रभाव राज्य सञ्चालन र सार्वजनिक नीतिमा पर्न जान्छ नै । पार्टीभित्रको संरचना र व्यवहारलाई लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्वपूर्ण सूचकका रूपमा लिइने गरिन्छ । आजको दिनमा त्यही दल कांग्रेसभित्र नेतृत्व विवाद, गुटबन्दी र आरोपप्रत्यारोप उत्कर्षमा पुगेको छ । यसले पार्टीभित्रको नीतिगत कमजोरी देखाउँछ । आमनागरिकले जब कुनै दलभित्र सधैँ झगडा, व्यक्तिगत स्वार्थ र पदलोलुपता मात्र देख्छन्, तब दलका प्रति उनीहरूको विश्वास घट्दै जान थाल्छ । त्यसकारण कुनै दलले सफलता पाउने पहिलो सर्त भनेकै नीतिगत प्रस्टता हो । त्यसका लागि पार्टीभित्रको एकता पहिलो सर्त हुन्छ ।
जब पार्टीभित्र आन्तरिक विवाद बढ्न जान्छ तब पार्टीले स्पष्ट नीति र दृष्टिकोण दिनै सक्दैन । नेतृत्वबिच जब निर्णय प्रक्रियामा असन्तुष्टि हुन्छ, त्यसपछि विवाद बढ्न जान्छ । पद र अवसरको बाँडफाँटमा वैचारिक मतभेदका कारण पनि झगडा हुन्छ । कुनै पनि ठाउँमा व्यक्तिकेन्द्रित राजनीति हाबी हुँदा त्यस्तो हुन गएको हो । त्यसपछि पार्टीका निर्णय संस्थागत हिसाबले नभई सीमित व्यक्तिको प्रभाव र दबाबमा हुन थाल्छन् । परिणाम पार्टीहरू कमजोर बन्दै जान्छन् । त्यस्ता निर्णयको पार्टीका हरेक सदस्यले अपनत्व लिन सक्दैनन् । यसबाट दलहरूप्रति नागरिकको विश्वास धर्मराउँदै जान्छ । नीतिगत रूपमा स्पष्ट नहुँदा नागरिकमा निराशा बढ्न जान्छ र त्यसले अन्ततः राजनीतिक उदासीनता निम्त्याउँछ । त्यसको परिणाम मतदातामा निराशा बढ्छ । निराशा बढेपछि उनीहरू निष्व्रिmय बस्छन् या त विकल्पको खोजीमा अघि बढ्न थाल्छन् ।
कुनै पनि दलभित्र गुटबन्दी त्यति अस्वाभाविक मानिहाल्नु पर्दैन । गुटबन्दी सिङ्गो पार्टीको हितमा हुँदा त्यसले खासै फरक पार्दैन । गुटबन्दी भनेको एउटै पार्टीभित्र फरक फरक नेताहरू वा समूहहरूले आफ्नो प्रभाव र शक्ति बढाउन बनाएको आन्तरिक समूह हो अर्थात् गुटबन्दी भनेको पार्टीभित्र मन मिल्नेहरूको समूह हो । पार्टीभित्रको गुटबन्दी स्वाभाविक राजनीतिक प्रक्रिया हुन सक्छ तर जब यो असन्तुलित र अनियन्त्रित हुन्छ तब यसले पार्टीको एकता मात्र होइन; समग्र लोकतान्त्रिक प्रणालीलाई पनि कमजोर बनाउँछ ।
जनविश्वासबिना लोकतन्त्र बलियो हुन सक्दैन । त्यसैले दलहरूले गुटबन्दी व्यवस्थापन गर्नु, आन्तरिक लोकतन्त्र सुदृढ बनाउनु र पारदर्शी तथा समावेशी निर्णय प्रक्रिया अपनाउनु आजको प्रमुख आवश्यकता हो । भनिन्छ, राजनीतिक दलहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ र दलहरू बलियो हुनका लागि उनीहरूभित्र एकता, सहमति र संस्थागत निर्णय अपरिहार्य हुन्छ ।
संसद्मा आफ्नो आकार जतिसुकै खुम्चिएको भए पनि कांग्रेस संसद्को प्रमुख प्रतिपक्षी दल हो । कांग्रेसले अब संसद्मा सशक्त प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्नु पर्छ । प्रमुख प्रतिपक्षी दलका नाताले संसद्मा कांग्रेसको महत्वपूर्ण भूमिका हुन्छ नै । प्रतिपक्षमा रहेको दलको प्रमुख दायित्व भनेको सरकारलाई खबरदारी गर्नु हो । प्रतिपक्षी दलको संसदीय धर्म पनि यही हो । प्रतिपक्षमा रहेको दल आन्तरिक रूपमा विभाजित देखिन्छ भने उसले संसद्मार्फत सरकारलाई प्रभावकारी रूपमा उत्तरदायी बनाउन सक्दैन । संसद्मा रचनात्मक प्रतिपक्षको खाँचो हुन्छ ।
त्यसकारण त्यो खाँचो पूरा गर्दै संसद्लाई जीवन्त बनाउने जिम्मेवारी कांग्रेसकै हुन आउँछ । यसका लागि कांग्रेसभित्रको घरझगडा तत्कालै बन्द गर्नु पर्छ । कांग्रेस कमजोर हुनु भनेको केवल यो उसको आन्तरिक समस्या नभई लोकतान्त्रिक व्यवस्थाको भविष्यसँग जोडिएको विषय पनि हो । पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउँदै सहमतिका आधारमा संस्थागत प्रक्रिया बलियो बनाउनु कांग्रेसको आजको प्रमुख आवश्यकता हो ।
– रामजी दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































