बिस्काः जात्रा मल्लकालीन युगका सबैभन्दा उत्तेजक जात्रामा दर्ता भएको चाड मानिन्छ । जात्राहरू जताततै उत्तेजनामय नै हुन्छन् ! उत्तेजनाका प्रासङ्गिक भावार्थ अनेक छन् । उत्तेजनाले रूपरङ्ग, जोस जाँगर, प्रफुल्लता अर्थ जाहेर गर्छ । तथापि बिस्काः जात्रा अत्यधिक जनसमूहबिच भैरवनाथको भीमकाय तीनतले, पित्तल्ले छानोहरू, गजूर, टुँडाल, विशाल काठेपाङ्ग्राहरू तलैपिच्छे टुँडालहरू जडिएर आकर्षक साथै भैरवनाथ मूर्ति विराजमान गरिएका पहिलो मूल तलाबिच–सामुन्ने बेताल देव (बेताद्यः) ढलवटको देवाकार फलामे बार बेरिएर राखिएको हुन्छ ।
बेताल भैरवका आसन काठ बङ्गाएर जडान गरिएको अवलोकन गर्ने जात्रालु महानुभाववृन्दले हेर्दा देख्दा अनुपम लाग्छ । ती सबैलाई कनिकुथि हेर्न भिड नजम्दै कालिगडीमा रुचि भएका दर्शकले पहिल्यै टौमढी पुग्नु श्रेयष्कर हुँदो हो ! नत्र विशाल जनसमूह ठेलमठेल गरी अपथ्यारो पार्ने अत्यधिक सम्भावना हुन्छ । यो भुक्तभोगी अनुभूति बनेको छ । सहलह गर्नु सांस्कृतिक अनुराग धर्म ठानेँ–मानेँ !


काठमाडौँ उपत्यकाका सबै पर्व आआफ्नै परिवेश र पर्यावरण अनुकूल विभिन्न मौसमी ऋतुमा मनाउने चलन थियो, अझै छन् । अहिले पाहुनाघर, ठाउँगाउँमा चमेना पसल, यातायात साधन सुविधाका कारण रातैभरि बास बस्ने चलन हराएका छन् ।


यक्ष मल्लका पाला सखारै उठेर पशुपतिनाथ दर्शन गर्न प्रभातफेरी गर्ने धार्मिक आस्था रहेका थिए । त्यस आस्था युगानुकूल प्रलम्बित, रूपान्तरित भएका छन् । मर्निङ वाक (प्रभातफेरी) नै त हुन् । स्वच्छ हावामा श्वासप्रश्वास फेर्नु । धर्म मात्र पाश्चात्य रूपाकृतिका घेरामै व्याख्या विश्लेषण गर्नु अनुपयुक्त हुन्छ सरासर ! धर्मका आस्थाभित्र जीवन पद्धति मनग्गे अटेसमटेस अटाएका छन् । पाश्चात्य जगत्लाई स्वस्थ तवरले सञ्चार गर्न हाम्रै काँधको जिम्मेवारी सम्झन्छु । किफलिङ्ग महाशयले पूर्व पूर्व नै, पश्चिम पश्चिम नै, पूर्व र पश्चिम कहिल्यै जोडिन्नन् भनेथे । दिशाका हिसाबले रीतिस्थिति परिवेशमूलक थियो । युग परिवर्तन भइसक्यो । विज्ञानले उसबेला र यसबेला समान राखेन, भएन । पूर्वले पश्चिमलाई अँगाले । पश्चिमले अँगाले पूर्वलाई । पूर्व र पश्चिमको मात्र होइन, उत्तर–दक्षिण पनि आपस अँगालिसके । जीवन–समाज–संस्कार–संस्कृति यथास्थितिमा कुँजिएका छैनन् । विश्व रूप धारण गरेका छन् ।


विश्व रूपधारी भैरव–भद्रकाली रथजात्रा युगीन छ । पुरातनवासी हुन्न, छैन । एक काल–समय–युग बित्छ । नयाँ उद्भव हुन्छ । विधिका विधान यस्तै यस्ता । जबसम्म सूर्यवरिपरि अनेकानेक ग्रह परिक्रमा गरिरहन्छन्–बिहान, मध्याह्न, अपराह्न, साँझ रात, मध्यरात, प्रभात भई रहन्छ । जीवनचक्र घुमिरहनु शाश्वत । शिशिर वसन्त आइरहन्छ बिस्काः जात्रा आइरहन्छ । मनाइरहन्छन् । भैरव–भद्रकाली रथ तानिरहन्छन् । यामाने लिङ्ग ठड्याइनै रहन्छन् । ढालिँदै गरिन्छन् । बिस्याकया–बिस्काः जात्रा मच्चिरहन्छन् । जबसम्मन खलखल पसिना स्खल हुन्नन् । पसिना पुछ्दै विशाल जनसागर आरामदायी सङ्गीतमय राग मचाउँछन्, “हाय हाय राम–थथेनेगु रसरङ्ग गवलय दश्व राम हँ ।” (यति सुखद समय कहिले पो जुट्दो हो.. हे राम हँ ।)


समय क्रममा लगातार एक महिना मच्चिने ललितपुरको रातो मत्स्येन्द्रनाथ रथयात्रा मच्चिन्छ । जाहूला ख्यलमा भोटो जात्रा गरी समापन गरिन्छ । धुमधाम तानाबानाका साथ ! मल्लकालीन नेपालमा मत्स्येन्द्र– मीननाथलाई आलो भुजा (थालभरि ताजा भात) छर्दै भोटो देखाउने रीतिथिति…! लोप भइसके ! बेलायतकी महारानी उनका पति ड्युक अफ एडेन बराले श्री ५ महेन्द्र–श्री ५ बडामहारानी रत्नलाई बेलायत भ्रमणको निमन्त्रणा गर्र्दा त्यहाँको म्युजियम अवलोकन गरेथे राजारानीले ।
त्यस अवसरमा त्यहाँ नेपालको हिरामोतीजडित भोटो सुरक्षित राखिएको पढेथेँ । टेलिभिजनमा हेरेथेँ ! प्रसङ्गवश, दिन गन्तीले एक महिना लामै दिनमान । भक्तपुरको बिस्काः जात्रा वर्षको अन्तिम महिना चैतको अन्त्यमा थालनी भएर नयाँ वर्षको वैशाख, महिनाको पहिलो हप्तासम्मै प्रलम्बित रहन्छ । बिस्काः जात्रा दुई वर्षलाई अँगाल्दो यात्रामय उत्तेजक चाडपर्व कसरी होइन भनौँ..?
– तेजेश्वरबाबु ग्वंगः
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























