बाइरोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी गुडाउँदै………..
काठमाडौँ बबरमहलबाट यात्रा थाल्दै अघि बढ्दा यही गीतको सम्झना आयो । बाटो बढे पनि राजमार्ग बढे पनि अवस्था उस्तै धुलो उडाउँदै, ढाड दुखाउँदै । २७५ किलोमिटरको दुरी तय गर्नु भनेको चानचुने कुरो हुँदै होइन । समय अघि बढ्यो, सडक र राजमार्ग थपिए तर यिनको दुर्दशा हेरिसाध्य छैन् । अवस्था उस्तै छ धुलो उडाउँदै, ढाड दुखाउँदै यात्रा तय गर्न हौसिएका थियौँ । प्रकृतिको अनुपम सौन्दर्य र मनमोहक स्थल सोलुखुम्बुको सल्लेरीमा यसपालि कला-साहित्य यात्रा तय भएको थियो, १९ औँ शृङ्खला । देशभित्र र बाहिर नेपाली साहित्यकलालाई जोड्ने र सम्पर्क विस्तार गर्ने उद्देश्यसहित नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको यात्राले निरन्तरता पाइनै रहेको छ । यात्रा मात्र होइन कलाश्री वार्षिक र वेब पत्रिकाको प्रकाशन, पुरस्कार र सम्मान, कवि गोष्ठी जस्ता कार्यक्रमलाई प्रतिष्ठानले निरन्तरता दिँदै आएको छ ।
सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने सिर्जना उत्सवमा सहभागी हुन बबरमहलमा भेला भएका स्रष्टा टोलीको नेतृत्व मोमिलाले गर्नुभएको थियो । बबरमहलको सडकमा अडिएर सहभागीको अनुहार पढ्दै जाँदा देखिए विभिन्न विधाका अग्रज र पछिल्ला पुस्ताका सर्जक नाट्यकर्मी अशेष मल्ल, कवि तथा गीतकार डा. विमल कोइराला, अनिता कोइराला, डा. कृष्णराज डिसी, लक्ष्मण गामनाङे, तुलसीहरि कोइराला, मणि लोहनी, महेश पौड्याल, कुमारी लामा, लक्ष्मी रुम्बा, मुकुन्द प्रयास, सुवास सङ्गम राई, वीरेन्द्र ग्यावा तामाङ, तारा सुनुवार, चन्द्र गुरुङ, पूर्ण ओलीलगायत देखिनुभयो । त्यही समूहलाई नेतृत्व र साथ सहयोग गर्न संयोजक मोमिला, प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्की, सुन्दर बस्नेत हुनुहुन्थ्यो । बबरमहलबाट १३ घण्टाको यात्रा तय गरेर सल्लेरी पुगेर झोला बिसाउँदा रात परिसकेको थियो, सल्लेरीको सौन्दर्य हेर्ने इच्छा थाती राखियो, चैत २८ गतेसम्मलाई ।
२८ गतेको बिहान फाप्लुसम्मको हाम्रो यात्रामा सुनमा सुगन्ध थपिन पुग्यो । झलमल्ल लागेको घामको साथ पाएर फाप्लुको सौन्दर्य र ऐतिहासिक महत्वलाई तस्बिरमा कैद गर्दै कार्यक्रम स्थल फर्कन हतारिन्छौँ, हामी ।
सल्लेरीको चिसो मौसममा मध्याह्नको समयमा स्थानीय हिमालयन याक होटेलमा आगन्तुक र सर्जकको आगमन बाक्लिसकेको थियो, सानो चिटिक्क परेको हलमा आगन्तुकको आगमन बढेसँगै धमाधम मेच पनि थपिँदै थिए, लाग्थ्यो साहित्यलाई मन पराएर, सर्जकलाई सम्मान प्रकट गर्न अनि आफूले सिर्जना गरेका सिर्जना सुनाउन आतुर देखिन्थे उनीहरू । यही भिडमा धेरै कम मात्र थिए स्थानीय नेता, प्रमुख र जिम्मेवार व्यक्तित्वहरू शायद उहाँहरूलाई थाहा भएन सल्लेरीको आँगनमा पहिलो पटक राष्ट्रियस्तरको बृहत् सिर्जना उत्सव हुँदै छ भनेर । थाहा पाउने र निम्तो पाएका सर्जक पुगेका थिए काठमाडौँ, धनकुटा, भोजपुर, नुवाकोट, रुकुम, जाजरकोट, धरान, ओखलढुङ्गा, धादिड, काभ्रेपलाञ्चोक, झापा, मकवानपुर, दाङबाट तर त्यही थलोमा रहेका चाहिँ औँलामा गन्न सकिने सङ्ख्यामा पनि थिएनन् । आफ्नै आँगनमा भइरहेको उत्सवमा पनि सहभागी हुन नसकिने कस्तो व्यस्तता हो ? मनमनै सोचियो पनि । जति जम्मा भए ती मनग्गे थिए । मोमिलाको अध्यक्षता र अशेष मल्लको प्रमुख आतिथ्यतामा मणि लोहनीले निर्धारित समयमा कार्यक्रम थाल्नुहुँदा १२:३० भएको थियो । स्थानीय संयोजक केशवदेव गिरीले एलपी जोशीको चर्चित गीत कान्छी मट्याङट्याङको प्रस्तुतिले रोचकता थपेको थियो । कलाकार सुन्दर बस्नेतको प्रस्तुति दृश्यमा देशदर्शनले दर्शक अतिथि मन्त्रमुग्ध बन्न पुगेका थिए ।


सिर्जना उत्सवसँग जोडिँदै आएको योगेश्वर वाङ्मय पुरस्कार यस पटक रुकुमका स्रष्टा पूर्ण ओली र ग्रेगरी कलासंस्कृति पुरस्कार स्थानीय स्रष्टा मानुहाङ किराँती सोलुलाई दिइएको थियो । कवि राजेश्वर कार्कीले आफ्ना पिताको स्मृतिमा स्थापना गर्नुभएको २५ हजार राशिको सो पुरस्कार र अमेरिकन नागरिक ग्रेगरीले स्थापना गर्नुभएको २० हजार राशिको ग्रेगरी कलासंस्कृति पुरस्कार स्व. ग्रेगरीको स्मृतिमा सिर्जना उत्सवको अवसर पारेर समर्पण गरिँदै आएको रहेछ ।
सिर्जना उत्सवमा डा. कृष्णराज डिसी, लक्ष्मण गामनाङे, राजेश्वर कार्की, मणि लोहनी, तारा सुनुवार, पूर्ण ओली, तुलसीहरि कोइराला, मुकुन्द प्रयास, चन्द्र गुरुङ, सुवास सजल, वीरेन्द्र ग्यावा तामाङ, लक्ष्मी रुम्बाका सिर्जना सुनिए । स्थानीय स्रष्टा शम्भु निःशब्द, सुषमा बस्नेत, महेन्द्रदीप राई, शक्ति कुलुङ, उत्रकुमार राई, मेरुदण्ड राई, सुवास सङ्गम राई आदिले आआफ्ना सिर्जना सुनाउनुभयो ।
निर्धारित समय घर्किंदै गए पनि कविता सुनाउन र मन्तव्य लम्बाउने प्रवृत्तिले कार्यक्रमको पुछारसम्म आइपुग्दा अघिको उत्साह कमै देखिन थाल्यो, आफ्नो सुनाउने अरूको नसुन्ने प्रवृत्ति त्यहाँ पनि देखियो । सुनाउन बसेकाहरू पनि लम्बेतान भाषण र कवितामाथि कविता थप्दै जाँदै थिए, मानौँ अवसर यही हो । यही प्रवृत्तिलाई सङ्केत गर्दै अशेष मल्लले आफ्नो मन्तव्यका क्रममा भन्नु पनि भयो, कवि गोष्ठीको महìव हामी आफैँले घटाउँदै गइरहेका छौँ । अनावश्यक लामा र कवितामाथि कविता थप्दै जाने प्रवृत्तिले दर्शक श्रोतालाई आफूतिर तान्न त सक्दैनन् बरु हलबाट बाहिर जान सघाउन पुग्छन् । प्रकृतिले यति अथाह सुन्दरता दिएको सल्लेरीको माटोमा कैयौँ सशक्त रचना रचिन सक्छन्, त्यसका लागि सर्जकले पनि चासो लिन सक्नु पर्छ । अचेल लामा र पट्यारलाग्दा भाषण, रचना सुन्ने समय धेरै कमसँग छ र त्यस्ता कुरामा उनीहरूको ध्यान पनि जाँदैन । आफूले भन्ने कुरा छोटकरीमै पनि सशक्त रूपले भन्न सकिन्छ भन्दै यता केही वर्षदेखि दुई/तीन मिनेटका चलचित्रप्रति मानिस आकर्षित हुन थालेको धारणा अशेष मल्लको थियो ।
निर्धारित समयभन्दा केही समय बढी लिएको सिर्जना उत्सवले औपचारिक रूपले झन्डै चार घण्टामा बिट मारे पनि यसबिच भएका विविध कार्यक्रमले पक्कै पनि महìवपूर्ण प्रभाव छोड्न सक्छ भन्ने विश्वास लिनु सान्दर्भिक नै होला । भोलिपल्ट चैत २९ गते पत्तालेको गुराँसको सौन्दर्य हेर्न गौरी टाप धाममा बिताएका समय पनि कम्ता रोमाञ्चक थिएनन् । हेर्नुपर्ने र सल्लेरीको सौन्दर्यमा रम्ने हो भने लामो समय बिताउन सकिन्छ तर सधैँ समयले पछ्याइरहने समयलाई पन्छाउन कहाँ सकिन्थ्यो र समयलाई सम्झेर समयमै काठमाडौँ फर्कने तरखरमा पत्तालेलाई बिदाइ गर्छौं । देशदर्शन र सर्जकहरूबिच एकअर्कासँग निकट रहेर आआफ्ना सिर्जना र साधनाबारे विचार विमर्श गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुन्छन् । आफ्नो कर्मथलो छाडेर नयाँ ठाउँ र त्यसमा पनि प्रकृतिसँग रमाउँदै स्थानीय जनजीवन बुझ्न र पढ्न पनि यस्ताखाले कार्यक्रमले पु¥याउने सहयोग त छँदै छ ।
– जयदेव भट्टराई
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























