04/17/2026, 20:52:27
शुक्रबार, बैशाख ०४, २०८३

इन्धनको मूल्य आकासिँदा घटे आन्तरिक उडानका यात्रु


काठमाडौँ, वैशाख ४ : नेपालको आन्तरिक उडानमा यात्रुको संख्या घटेको छ । जसको मुख्य कारण हो, उड्डयन इन्धनको भाउ बढेसँगै वृद्धि भएको टिकटको मूल्य ।

नेपालको सबैभन्दा ठूलो निजी विमान कम्पनी बुद्ध एयरले आफ्नो दैनिक यात्रु संख्या १५ सयले घटेको जनाएको छ । मुल्यवृद्धि हुनअघि दैनिक ८ हजार यात्रुले बुद्ध एयरमार्फत यात्रा गर्थे ।

यात्रु कम भएपछि हामीले दैनिक कम्तीमा २५ प्रतिशतले उडान घटाएका छौं,’  बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने,  ‘एयरलाइन्सको कुल खर्चमा इन्धन खर्च मात्रै २५–३० प्रतिशत हुन्थ्यो, अहिले ५० प्रतिशत पुगेको छ ।’  कम्पनीको मुनाफामा यसले असर गरेको उनले बताए ।

एयरलाइन्सहरुले दोहोरो मार खेप्नुपरेको उनको भनाइ छ । बस्नेतका अनुसार अमेरिकी डलरको भाउ बढ्दा पाटपुर्जा महँगो भइरहेका छन् । मूल्यवृद्धिले सञ्चालन खर्च बढिरहेको छ ।

नेपाल आयल निगमले गत साता उड्डयन इन्धनको मूल्य बढाएर इतिहासकै उच्च बनाएको छ । पश्चिम एसियामा जारी संकटले यस्तो निर्णय गर्नुपरेको निगमले जनाएको छ ।

१ अप्रिलमा उड्डयन टर्बाइन इन्धन (एटीएफ) को मूल्य अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि ७७ दशमलव ६३ प्रतिशतले बढाएर १७ सय १६ प्रति किलोलिटर काठमाडौं, पोखरा र भैरहवाका लागि तय गरिएको छ । यसअघि १९ जुन २०२२ मा सबैभन्दा उच्च १६ सय ४५ प्रति किलोलिटर पुगेको थियो ।

आन्तरिक उडानका हकमा १ अप्रिलमा एटीएफ मूल्य ९७ दशमलव ६३ प्रतिशतले बढेर २ सय ५१ प्रतिलिटर पुगेको थियो । ९ अप्रिलमा फेरि आन्तरिक उडानमा मूल्यवृद्धि गरेर २ सय ५७ प्रतिलिटर पुर्‍याइयो । बिहीबार ५ रुपैयाँ बढेर २ सय ६२ पुग्यो । अहिलेको मूल्यवृद्धि अघि सबैभन्दा उच्च मूल्य सेप्टेम्बर १, २०२२ मा १ सय ९० प्रतिलिटर थियो ।

यो उड्डयन इन्धन मूल्यको इतिहासमै सबैभन्दा ठूलो वृद्धि हो,’  नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने । विश्वमै घट्दो उत्पादन र बढ्दो मागका कारण यस्तो अवस्था आएको उनले बताए ।

श्री एयरलाइन्सका अनुसार दैनिक यात्रुको संख्या ३०–४० प्रतिशतले घटेको छ । ‘यो उच्च पर्यटकीय सिजनमा ठूलो कटौती हो,’ श्रीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘इन्धन वृद्धिका कारण यात्रुको संख्या मात्रै घटेको छैन, समग्र पर्यटन उद्योग पनि प्रभावित छ ।

यस अघि श्रीले दैनिक ३ हजार यात्रु बोक्ने गरेको थियो, अहिले यो संख्या २ हजारमा झरेको छ । ‘हामी जनतेन थेग्ने अवस्थामा छौं । यदि अर्को महिना पनि यस्तै रह्यो भने सबैले पीडा बेहोर्नेछन्, नेपालको अर्थतन्त्रले समेत,’  मानन्धरले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार प्रतिलिटर ४ रुपैयाँले इन्धनको मूल्य बढ्नासाथ आन्तरिक उडानले त्यसलाई भाडामा समायोजन गर्नुपर्ने हुन्छ । जसको अर्थ इन्धनको मूल्यवृद्धिले सोझै टिकटको मूल्यवृद्धि गराउँछ ।

अहिले काठमाडौं–धनगढीमा (सबैभन्दा लामो आन्तरिक उडान) इन्धनको मूल्य बढ्दा भाडा ५ हजार ४ सय ८० ले बढेर न्यूनतम १६ हजार ०८५ पुगेको छ । देशकै सबैभन्दा छोटो काठमाडौं–सिमरा रुटमा भाडादर बढेर न्यूनतम ५ हजार ९९ पुगेको छ । सन् २०२५ मा नेपालमा आन्तरिक उडान थोरै मात्र बढ्यो । काठमाडौं विमानस्थलमा पूर्वाधार अवरोध, कम पर्यटक आगमन र तराईका भूभागमा बढ्दो प्रदूषण यसका केही कारक थिए ।

नेपालका आन्तरिक उडान (सात वटा विमान कम्पनी) र १२ वटा हेलिकोप्टर कम्पनीहरुले गत वर्ष ४५ लाख ६० हजार यात्रु बोकेका थिए । जो, सन् २०२४ को दाँजोमा २ दशमलव २ प्रतिशतले वृद्धि थियो । वृद्धि थोरै मात्र भए पनि यो अहिलेसम्म रेकर्ड गरिएको एकै वर्षको सबैभन्दा ठूलो यात्रु संख्या थियो ।

सन् २००० यता आन्तरिक यात्रुको संख्या चार गुणाभन्दा धेरैले बढेको छ । त्यसबेला ८ लाख ५३ हजार यात्रुहरुले आन्तरिक उडानमा यात्रा गरेका थिए । त्यो त्यस्तो समय थियो, जतिबेला हवाई यात्रालाई विलासी मानिन्थ्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सन् २०२४ को दाँजोमा सन् २०२५ मा आन्तरिक उडानमा ९८ हजार ६ सय १३ जना यात्रु थपिएका थिए ।

– संगम प्रसाई