काठमाडौँ, असोज २६ गते । धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि मर्मतसम्भार गर्न राजमार्गमा सवारी आवागमन बन्द गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिनुभएको छ। गत असोज २३ गते सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग असोज २४ गते दिनभरको प्रयासपछि सञ्चालनमा आएको थियो।
दसैँको मुखमा राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई थप समस्या हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले दसैँका लागि हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको अवस्थामा राजमार्ग बन्द हुँदा आवागमनमा चुनौती थपिएको बताउनुभयो।
उहाँका अनुसार असोज १७ देखि २५ गतेसम्म काठमाडौँको नयाँ बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ यात्रु बाहिरिएका छन्। दसैँका लागि ठूलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने क्रम जारी रहेकाले सडक बन्दले यात्रु व्यवस्थापनमा थप चुनौती सिर्जना गर्ने देखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





