11/28/2026, 14:35:21
शनिबार, मङि्सर १३, २०८३
* हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य *

सरकारद्वारा ‘नागरिक बजेट’ सार्वजनिक: बजेटका मुख्य विषयवस्तुहरू सहजै बुझ्न सकिने

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, असोज २६ गते । प्रत्येक वर्ष जेठ १५ गते संसद्मा प्रस्तुत हुने बजेटलाई सर्वसाधारणले सहजै बुझ्ने उद्देश्यले अर्थ मन्त्रालयले ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ।

‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई सरल रूपमा आमनागरिकसमक्ष प्रस्तुत गर्न यो पुस्तिका तयार गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार राज्यको खर्च र विनियोजन प्रक्रियालाई थप पारदर्शी तथा जवाफदेही बनाउन यो अवधारणा ल्याइएको हो। यस पुस्तिकामा बजेटका प्राथमिकता, करका प्रावधान, विकासका लक्ष्य तथा सरकारका योजनाहरूलाई सर्वसाधारणले बुझ्ने सरल भाषामा समेटिएको छ।

नयाँ बजेट वा कुनै छुट्टै दस्ताबेज नभई यो चालु आर्थिक वर्षको बजेटकै नागरिक-मैत्री प्रस्तुतीकरण हो। यसले बजेट निर्माणको चक्र, स्रोतको पहिचान, खर्च हुने क्षेत्र तथा नागरिकले प्राप्त गर्ने सेवा-सुविधाबारे स्पष्ट जानकारी प्रदान गर्नेछ।

नागरिक बजेटमार्फत सरकारले सङ्घीयतामा करको दायरा, राजस्व बाँडफाँड, अनुदान प्रणाली र विभिन्न क्षेत्रगत प्राथमिकतालाई प्रस्ट्याएको छ। साथै, सामाजिक सुरक्षा र विभिन्न लक्षित समूहले पाउने सुविधालाई समेत तालिकामार्फत सहज रूपमा बुझ्न सकिने गरी प्रस्तुत गरिएको छ।

नागरिक बजेटका प्रमुख विशेषता तथा विषयहरू

विषय / क्षेत्र नागरिक बजेटमा समेटिएका मुख्य बुँदाहरू
बजेट निर्माण प्रक्रिया समष्टिगत आर्थिक खाकादेखि बजेट तर्जुमा, स्वीकृति, कार्यान्वयन, र लेखा परीक्षणसम्मका ६ चरणहरूको व्याख्या।
मुख्य लक्ष्य र विशेषता सुशासन कायम गर्ने, नीतिगत तथा कानुनी सुधार गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने ९ वटा मुख्य विशेषता।
कर तथा राजस्व व्यवस्था व्यक्तिगत आयकरको छुट सीमा वृद्धि, करका दर हटाइएका प्रावधान, र ६० प्रकारका वस्तुमा अन्तःशुल्क छुट।
खर्चका क्षेत्रहरू सडक पूर्वाधार, खानेपानी, स्वच्छ ऊर्जा, सिँचाइ, कृषि, शिक्षा, स्वास्थ्य र खेलकुदजस्ता क्षेत्रगत आयोजनाहरूको विवरण।
लक्षित समूह तथा सुविधा किसान, विद्यार्थी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा, श्रमिक र उद्यमीहरूले बजेटमार्फत पाउने विशेष व्यवस्था।