10/12/2026, 20:36:16
सोमबार, असोज २६, २०८३

“अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।”

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

चितवन, असोज २६ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अस्पष्ट कानुनका कारण उद्योगी–व्यवसायीले भोग्दै आएको प्रशासनिक झन्झट अन्त्य गर्न कानुन संशोधन गरिने बताउनुभएको छ। समयअनुसार कानुनलाई स्पष्ट र व्यावहारिक बनाउँदै लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उहाँको भनाइ छ।

चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गौतमले लगानीमैत्री कानुन निर्माणका लागि सरकार आवश्यक पूर्वतयारी र छलफलमा जुटेको जानकारी दिनुभयो। नीति निर्माता, कर्मचारीतन्त्र, निजी क्षेत्र र राजनीतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

“प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ । अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्‍यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।”

मन्त्री गौतमका अनुसार कानुन निर्माण र संशोधन रातारात सम्भव हुँदैन। दीर्घकालीन समस्या समाधान हुने गरी पर्याप्त अध्ययन र संवाद आवश्यक रहेको भन्दै उहाँले हतारमा गरिएको कानुन संशोधनको असर जनताले भोग्नुपर्ने भएकाले सरकारले योजनाबद्ध रूपमा प्रक्रिया अघि बढाइरहेको बताउनुभयो।

उहाँले लगानी र उद्योगमैत्री कानुन निर्माणको चरणमा सरकार प्रवेश गरिसकेको बताउँदै स्पष्ट कानुन, कम प्रशासनिक झन्झट र सहज लगानी वातावरणले निजी क्षेत्रको विश्वास बढाउने उल्लेख गर्नुभयो। उद्योगी–व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार पनि प्रतिबद्ध रहेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन्।

विषय के हुँदैछ? अपेक्षित प्रभाव
कानुन संशोधन अस्पष्ट कानुनलाई स्पष्ट बनाइने प्रशासनिक झन्झट घट्ने
लगानी वातावरण लगानीमैत्री कानुन निर्माण निजी क्षेत्रको विश्वास बढ्ने
सहकार्य सरकार, निजी क्षेत्र र नीति निर्माताबीच संवाद व्यावहारिक कानुन निर्माण
उद्योग व्यवसाय उद्योगी–व्यवसायीका समस्या सम्बोधन व्यवसाय सञ्चालन सहज हुने
कानुन निर्माण अध्ययन, छलफल र पूर्वतयारीपछि संशोधन दीर्घकालीन समस्या समाधान