04/18/2026, 10:40:12
शनिबार, बैशाख ०५, २०८३

शुक्लाफाँटा निकुञ्जमा बाघको आहारा धेरै


धनगढी, वैशाख ५ गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालका अन्य निकुञ्जको तुलनामा बाघको आहारा सबैभन्दा धेरै रहेका छन् । निकुञ्ज कार्यालयका अनुसार बाघले खाने बाह्रसिङ्गा, बँदेल, मृग लगायतका आहारा प्रजाति सबैभन्दा धेरै रहेका पाइएको छ । निकुञ्जमा प्रतिवर्ग किलोमिटरमा बाघको आहारा प्रजाति १४६ वटा पाइने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “यति धेरै आहारा प्रजाति मुलुकको अन्य कुनै पनि राष्ट्रिय निकुञ्जमा पाइँदैन् । धेरै बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटर क्षेत्रमा ९० वटा आहारा प्रजाति पाइने गरेको छ ।’’

शुक्लाफाँटामा आहारा प्रजातिका जनावर धेरै पाइने गरेकाले निकुञ्जका बाघ निस्केर गाउँबस्तीतर्फ गएर हानि नपु¥याएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । उहाँले भन्नुभयो, “हाम्रो यहाँ आहारा प्रजाति धेरै भएकाले आहाराको खोजीमा बाघ निकुञ्जबाट निस्केर बस्तीतिर गई क्षति पु¥याएको छैन ।

२०२२ को राष्ट्रिय बाघ गणनामा यो निकुञ्जमा ३६ वटा बाघ अभिलेख भएका थिए तर पछिल्लो आन्तरिक अनुगमनबाट निकुञ्जमा ४४ वटा बाघ रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । यो सङ्ख्या बाघ पाइने सबैभन्दा कम क्षेत्रफलमा धेरै हो । एउटा भाले बाघलाई आहारविहार गर्नका लागि ६१ देखि ६५ किलोमिटर क्षेत्रफल आवश्यक पर्ने गरेको प्रमुख संरक्षण अधिकृत चौधरीले बताउनुभयो । त्यस क्षेत्रमा कम्तीमा पाँच वटासम्म पोथी बाघ पनि रहने गरेको जनाइएको छ ।

यसैबिच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकिएको छ । फागुन अन्तिमबाट सुरु गरिएको गणना कार्र्य चैत १७ गते नै सकिएको हो । राष्ट्रिय सर्वेक्षण कार्यक्रम अन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना गरिएको थियो । गणना सकिएर विभागले तथ्याङ्क विश्लेषण गरिरहेको चौधरीले जानकारी दिनुभयो । निकुञ्जमा बाघ गणनाका लागि ७७ जना प्राविधिक परिचालन गरिएको थियो भने ५२० वटा क्यामरा राखिएको थियो ।