काठमाडौँ, वैशाख ४ : पुरानो मितिका २९ लाख सवारी चालक अनुमति पत्र (लाइसेन्स) मध्ये दोस्रो लटमा १७ लाख लाइसेन्स छपाइ गर्न सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच सम्झौता भएको छ । शुक्रबार सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना र विभागका महानिर्देशक राजीव पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार उक्त लाइसेन्स असार मसान्तभित्र छापिसक्ने विभागका निर्देशक केशव खतिवडाले बताए ।
‘यसअघि १२ लाख लाइसेन्स छपाइको सम्झौता भएको थियो,जसअनुसार ७ लाख लाइसेन्स छापेर आइसकेको छ, बुधवारबाट ट्रायल पास गरेर र नवीकरणका लागि राजस्व तिर्ने सेवाग्राहीको चौबीस घण्टाभित्र लाइसेन्स छापेर आइरहेको छ,’ उनले भने, ‘यसरी सुरक्षण मुद्रण केन्द्रबाट छापेर आएको लाइसेन्सलाई हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा पठाउने गरिएको छ ।’ यस्ता कार्यालय देशभर ४२ वटा छन् ।
पुरानो छपाइ गर्नुपर्ने लाइसेन्स संख्या २९ लाख पुगेको थियो । यसमा पनि विभाग र केन्द्रबीच १३ कात्तिकमा पहिलो लटमा १२ लाख लाइसेन्स १२ वैशाखभित्र छापेर दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार नै १२ लाख लाइसेन्स १२ वैशाखभित्र छापिसक्ने सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । अहिले केन्द्रले दैनिक ४० हजार लाइसेन्स छपाइ गरिरहेको छ ।


केन्द्रका निर्देशक देवराज ढुंगानाका अनुसार साउन १ बाट कुनै पनि सेवाग्राहीले लाइसेन्सका लागि राजस्व तिरेको रसिद बोकेर हिँड्न पर्ने छैन । सेवाग्राही सन् २०२२ देखि नवीकरण, नयाँ लाइसेन्सका लागि राजस्व तिरेको चिर्कटो बोकेर हिँड्न बाध्य छन् ।
वालेन्द्र शाह प्रधानमन्त्री भएपछि १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र लाइसेन्स छापेर हुलाकमार्फत घरघर पुर्याउने उल्लेख गरेको छ । त्यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने उल्लेख छ । अहिले त्यही अनुसार नै काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
– विमल खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































