04/18/2026, 10:40:20
शनिबार, बैशाख ०५, २०८३

नारायणगढ – बुटवल सडकखण्ड : चौँतिस पुल र कल्भर्ट निर्माण


काठमाडौँ, वैशाख ५ गते । विस्ताराधीन पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको पूर्वी भाग (नागरायणगढ–दाउन्ने) मा पुल र कल्भर्ट निर्माण सम्पन्न भएको छ । यस भागमा साना र ठुला गरी कुल ३४ वटा पुल निर्माण भएको हो । यसमध्ये साना २२ र ठुला १२ वटा पुल निर्माण भएका हुन् । त्यसै गरी यस भागमा सबै कल्भर्टसमेत निर्माण सम्पन्न भइसकेको छ ।

सडक विभाग एडिबी निर्देशनालय प्रमुख ई. चूडाराज ढकालले विस्तारक्रममा रहेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको पूर्वी भाग (नारायणगढ–दाउन्ने) मा निर्माण गर्नुपर्ने पुलको काम सम्पन्न भएको जानकारी दिनुभयो । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबासस्थित विनयीखोलाको पुल निर्माण सम्पन्न भई शुक्रबारदेखि सञ्चालनमा आएको छ । सो पक्की पुलको कुल लम्बाइ २४५ मिटर छ । यसअघि यस पुलमा डाइभर्सनको भरमा सवारीसाधन सञ्चालन हुँदै आएको थियो । दुई वर्षअघि विनयीखोलामा रहेको फलामे पुल भत्किएको थियो ।

पुल निर्माण सम्पन्न भएसँगै राजमार्गको सो खण्डमा यातायात तत्कालका लागि सहज भएको निर्देशनालय प्रमुख ई. ढकालले बताउनुभयो । निर्देशनालय प्रमुख ई. ढकालका अनुसार यस भागमा कुल २११ वटा कल्भर्ट निर्माण गरिएको हो । उहाँले कुल लम्बाइ ६५ किलोमिटर रहेको यस भागको विस्तार अन्तिम चरणमा रहेको बताउनुभयो । दाउन्ने खण्डको काम अन्तिम चरणमा छ । आयोजनाका अनुसार कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानी छ ।

एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । आयोजनाका अनुसार गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपियाँ र दाउन्ने–बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ रहेको छ । यो ४२ महिनाभित्र सम्पन्न गर्ने गरी सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर अझै निर्माणाधीन अवस्थामै छ । दुई वटै प्याकेज निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबिचको दुरी बढीमा दुई घण्टाको हुने सडक विभागको दाबी छ । विक्रम संवत् २०१८ मा यस राजमार्गको शिलान्यास गरिएको थियो । शिलान्यासको झन्डै छ दशकपछि यस राजमार्गको विस्तार सुरु भएको हो ।

– भउचप्रसाद यादव