

काठमाडौँ, वैशाख ४ गते । भिडियो सेयरिङ प्लाटफर्म, टिकटकले पछिल्लो एक वर्षमा नेपालका ९१ लाखभन्दा धेरै भिडियो हटाइदिएको छ । यसरी हटाइएकामध्ये ९९ प्रतिशतभन्दा बढी भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुभन्दा पहिले नै टिकटकको आफ्नै एआई (अटोमेटेड डिटेक्सन प्रविधि) ले पत्ता लगाएर हटाएको दाबी गरिएको छ ।
कम्पनीले पछिल्लो समय आफ्नो एआई मोडरेसन प्रणालीमा निकै सुधार गरेको जनाएको छ । यो प्रणालीले एआईबाट बनेका भिडियोसमेत सहजै पत्ता लगाउन सक्ने र विश्वव्यापी रूपमा एआईद्वारा निर्मित वा सम्पादन गरिएका १.८ प्रतिशत कन्टेन्ट टिकटकले हटाइदिएको जनाएको छ ।
‘एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको छ,’ टिकटकले विज्ञप्तिमा भनेको छ, ‘यसले एआईमा आधारित हाम्रो मोडरेसन प्रणालीमा भएको सुधारलाई संकेत गर्छ । यसले नियम उल्लंघन गर्ने पुराना कन्टेन्ट पनि पहिचान गरी हटाउन सक्षम भएको छ ।’ आफ्नो गाइडलाइन पालना नगर्ने पोस्ट हटाउने विषयमा ‘प्रोएक्टिभ’ भए पनि टिकटकले आपत्तिजनक कमेन्टको हकमा भने पहुँच खुम्च्याइदिने नीति अपनाएको स्पष्ट पारेको छ ।
‘टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले गर्दा कमेन्ट हटाउने दरमा भने उल्लेखनीय कमी आएको छ ।’ यस प्लाटफर्मले सन् २०२५ को अन्तिम त्रैमास (अक्टोबरदेखि डिसेम्बरसम्म) मा मात्रै नेपालका १९ लाख ३२ हजार ५ सय ७५ वटा भिडियो हटाएको रिपोर्ट सार्वजनिक गरेको छ । चारवटै त्रैमासको गणना गर्दा टिकटकले नेपालबाट पोस्ट भएका ९१ लाख १४ हजार ९५ भिडियो हटाएको देखिन्छ ।
टिकटकको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ अनुसार यी भिडियोहरू प्लाटफर्मको निर्देशिका उल्लंघन गरेको कारण हटाइएका हुन् । यो अवधिमा नेपालमा भिडियो हटाउने सक्रिय दर ९९.९ प्रतिशत रहेको वेबसाइटमा उल्लेख छ । टिकटकका अनुसार हटाइएकामध्ये ९८.४ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए ।
सन् २०२५ मा टिकटकले विश्वव्यापी रूपमा भने आफ्ना नियम उल्लंघन गर्ने ७० करोड ७७ लाखभन्दा बढी भिडियोहरू हटाएको थियो । तर, यो संख्या टिकटकमा अपलोड हुने कुल सामग्रीको जम्मा ०.५ प्रतिशतदेखि ०.७ प्रतिशतसम्म हुने कम्पनीले जनाएको छ ।
विश्वव्यापी रूपमा टिकटकले यस त्रैमासमा मात्रै १७ करोड ५३ लाख २ हजार ८५ वटा भिडियो हटाएको तथ्यांक सार्वजनिक गरेको छ । यो संख्या उक्त अवधिमा प्लाटफर्ममा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत मात्र भएको विज्ञप्तिमा उल्लेख छ । कुल हटाइएका भिडियोमध्ये १५ करोड २५ लाखभन्दा बढी अटोमेटेड प्रविधि वा एआई प्रयोग गरी हटाइएको रिपोर्टमा उल्लेख छ ।
‘कुल ८३ लाख ६० हजार ७८० भिडियो भने रिभ्युपछि पुन:स्थापना गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेकोमा ९३.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो ।’
तीन महिनाको अवधिमा टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्टहरू पनि हटाएको जनाएको छ । साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरू पनि हटाइएको थियो ।
हटाइएका भिडियोमध्ये २१.२ प्रतिशत ‘संवेदनशील’ वा वयस्क विषयवस्तुका रहेको टिकटकले विज्ञप्तिमा उल्लेख गरेको छ । सुरक्षा मापदण्ड उल्लंघन गरेका ९.१ प्रतिशत र गोपनीयता उल्लंघन गर्ने १.२ प्रतिशत सामग्री हटाइएका छन् भने १.६ प्रतिशत गलत सूचना फैलाउने र १.८ प्रतिशत एआईद्वारा निर्मित वा सम्पादन गरिएका सामग्री रहेको टिकटकले जनाएको छ ।
– सजना बराल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































